काठमाडौं । युद्धग्रस्त क्षेत्र युक्रेनमा फसेका ५११ नेपाली ज्यान जोगाउन सुरक्षित रुपमा सीमावर्ती छिमेकी देशमा पुगेका छन् । हालसम्म युक्रेनबाट पोल्याण्डमा ४०३, स्लोभाकियामा ७१, रोमानियामा २७, हङ्गेरीमा ६ तथा मोल्दोभामा चार जना नेपाली पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । युद्धग्रस्त क्षेत्रबाट सुरक्षित रुपमा सीमावर्ती छिमेकी देशमा आइपुगेका उनीहरुलाई भारतीय उडानबाट नेपाल फर्काउने ल्याउने तयारी छ ।
युक्रेनबाट निस्केका नेपाली नागरिकलाई भारत सरकारबाट सञ्चालित उडानमार्फत ल्याउनका लागि भारत सरकारलाई अनुरोध गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उद्धारका लागि भारतबाट सकारात्मक जवाफ प्राप्त भएको र युक्रेनको सुरक्षा अवस्थालाई ध्यानमा राखेर त्यहाँ रहेका नेपालीलाई सुरक्षित ठाउँमा पुर्याउन र देश फर्काउन पनि सहजीकरण भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।