काठमाडौं । शनिबार बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण पूर्ण प्रभावित भएको छ ।
विमानस्थल स्रोतका अनुसार आज बिहानैदेखि अन्तर्राष्ट्रिय र आन्तरिक दुवै तर्फको उडान तथा अवतरण हुन सकेको छैन ।
विमानस्थलमा भिजिबिलिटी कम हुँदा सातवटा जहाजहरु आकाशमै होल्ड भएका छन् भने एउटा जहाज भारतको लखनउ डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार आन्तरिक उडानका लागि भिजिबिलिटी आठ सय मिटर र आगमनको लागि भिजिबिलिटी १६ सय मिटर चाहिन्छ । तर, अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ देखि ६ सय मिटर मात्रै भिजिबिलिटी भएकाले उडान अवतरण प्रभावित भएको छ ।
बिहानैदेखि हवाई उडान हुन नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको चाप अत्याधिक बढेको छ।