काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सफारी रिसोर्टबाट निस्किएर बन्दसत्रको हलतिर लागेका छन् । एमालेका पदाधिकारीदेखि केन्द्रीय सदस्य छान्ने सर्वाधिकार पाएका ओली बन्दसत्रको हलतिर लागेका छन् । भर्खरै उनलाई भेट्न सफारी रिसोर्ट पुगेका लेखराज भट्ट पनि ओलीसँगै बन्दसत्रको हलतिर लागेका छन् ।
एमालेको नेतृत्व सर्वसम्मत चयन गर्नका लागि शनिबार रातिदेखि ओलीले छलफल गर्दैआएका छन् । तर आफ्नै गुटका सुवास नेम्वाङदेखि दस बुँदेवाला भीम रावल र घनश्याम भूसाललाई सहमतिमा ल्याउन सकेका छैनन् ।
सुवास नेम्वाङले ओलीबाहेक अरुलाई नेता मान्न तयार नभएको स्पष्ट जवाफ दिएका छन् । भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने भनेका छन् भने भूसालले उपाध्यक्षमा प्रतिस्पर्धा गर्ने बताएका छन् । भूसालले त सार्वजनिक रुपमै उम्मेदवारी दिएर पराजीत हुन दिन माग गरेका छन् ।