काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)सँग वैदेशिक रोजगारीमा देखिएको समस्या र समाधान’bout छलफल गरेको छ । श्रममन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिन संसदीय समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा यस्तो छलफल गरेको हो ।
समितिका सदस्य समेत रहेका श्रेष्ठ श्रममन्त्री भएपछि पहिलोपटक समितिको बैठकमा सहभागी भएका थिए । छलफलमा फ्रि भिसा र फ्रि टिकट कार्यान्यवन नहुँदा भइरहेको ठगी, भिजिट भिसाको नाममा अवैध बाटोबाट विदेश लैजाने प्रवृत्ति, अवैध बाटोबाट गएका घरेलु कामदारको समस्याका साथै आन्तरिक बेरोजगारी समस्या समाधान’bout समितिका सदस्यहरूले चासो राखेका थिए ।
सभापति विमल श्रीवास्तवले लामो समयदेखि टुंगोमा पुग्न नसकिरहेको विषयमा सकेसम्म छिटो निर्णयमा पुग्न श्रममन्त्री श्रेष्ठलाई आग्रह गरिएको बताए । उनले भने, ‘कोरोनाका कारणले अर्थतन्त्रमा शिथिलता आइ आन्तरिक रोजगारी सिर्जना हुन नसकेको अवस्थामा अल्पकालीन भए पनि वैदेशिक रोजगारीले बेरोजगारी समस्याको समाधान गर्ने भएकाले बेलायत, जापान, दक्षिण कोरिया र खाडी मुलुकको रोजगारीमा तीव्रता दिनु आवश्यक रहेकाले मन्त्रीलाई निर्देशन दिएका छौं ।’
श्रममन्त्री श्रेष्ठले बिचौलियाहरूको ठगी अन्त्य गरेर वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाइने बताए । श्रममन्त्री श्रेष्ठले राम्रो पारिश्रमिक पाउने श्रम गन्तव्यमा नेपाली कामदार पठाउन सरकारले पहल गरिरहेको जानकारी दिए । यसैगरी, उनले सरकारले बेलायतमा फास्ट ट्रयाकबाट १० हजार नर्स पठाउन औपचारिक पहल सुरु गरेको जानकारी दिँदै सीप सिकाएर उपयुक्त गन्तव्य मुलुकमा नेपाली कामदार पठाउने गरी तयारी अघि बढेको बताए ।
दक्षिण कोरियामा कोरोनाका कारण रोकिएका कामदार पठाउन सुरु गरिएको भन्दै मन्त्री श्रेष्ठले आगामी जनवरीसम्म ६ सय जना कामदार पठाइने बताए । इजरायलमा रोजगारीका लागि भाषा परीक्षा पास गरेका कामदारको स्वास्थ्य तथा पुलिस रिपोर्टसम्बन्धी काम सकिएर प्रशासनिक काम मात्र बाँकी रहेकोले छिट्टै इजरायल पठाइने जानकारी दिए ।
मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले वैदेशिक रोजगारको नयाँ गन्तव्य खाजी भइरहेको बताउँदै विभिन्न रोजगारदाता देशसँग श्रम सम्झौता र नवीकरणको तयारी भइरहेको बताए । समितिको सदस्यसमेत रहेका मन्त्री श्रेष्ठलाई समितिमा बधाई ज्ञापन गरिएको थियो । राजधानी दैनिकबाट