Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रीद्वारा वडाध्यक्षमाथि हातपात भएपछि कोइरालाकाे आक्राेश, गुण्डागर्दीबाट पार्टी कब्जा गर्ने अभियान चलाइयो


    बिहिबार, असोज ७ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी कब्जा गर्न संस्थापन पक्षले अभियान नै शुरु गरेको आरोप लगाएका छन् ।

    प्रदेश नम्बर–२ का मन्त्रीले वडाध्यक्षमाथि हातपात गरेको भन्दै विरोधका लागि आज सानेपा पुगेका नेता कोइरालाले संस्थापन पक्षले पार्टी कब्जा गर्न गुण्डागर्दी गरेर अभियान नै शुरु गरेको आरोप लगाएका हुन् ।

    ‘प्रदेशको–२ का आठ जिल्लमा क्रियाशील सदस्यता पुग्न सकेको छैन । सर्लाहीका लागि हरेक दिन क्रियाशीलको विषयमा बिहान, दिउँसो, बेलुका अर्कै निर्णय भइरहेका छन्’, नेता कोइरालाले भने, ‘पार्टी कब्जा गर्ने नाममा जुन गुण्डागर्दी भएको छ, यो मान्य छैन ।’

    सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा प्रहरी लगाएर वडा अधिवेशन कब्जा गरिएको र अब गुण्डागर्दी शुरु गरेको उनको भनाइ छ ।

    ‘आफ्नै जिल्ला डडेलधुरामा पुलिस प्रशासन लगाएर वडा अधिवेशन गरियो, कांग्रेसको ७५ वर्षे इतिहासमा कहिल्यै यस्तो भएको थिएन’, उनले भने, ‘सर्लाहीका विषयमा भएको घटना कहिल्यै स्वीकार्य हुन्न ।’ उनले डडेलधुरा र सर्लाहीका सन्दर्भमा गरिएका दुवै घटनाको उद्देश्य असली कार्यकर्तालाई हतोत्साही बनाउने रहेको भन्दै यसबाट विचलित नहुन आग्रह गरे ।

    ‘जुझारू साथीहरू विचलित बनाउन आक्रमण र प्रशासनको दुरुपयोग गर्ने प्रयास भएको छ, तपाईंहरु विचलित नहुनुहोस्’, कोइरालाले भने, ‘त्यस्ता तत्व जिल्ला–जिल्लाबाट विस्थापित हुन्छन् । तपाईंहरू लाग्नुहोस्, हाम्रो पूर्ण समर्थन छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार