काठमाडौं । नेपालबाट हुने अवैध हुन्डी कारोबारका मुख्य नाइके तरुण खेम्का पक्राउ परेको ११ दिनमै छुटेका छन् । २०७८ साउन २५ मा पक्राउ परेका उनी शक्तिकेन्द्रको दबाबमा उनी भदौ ३ मै छुटेका छन् । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले उनलाई शक्तिकेन्द्रको धेरै दबाब परेपछि बरामद भएको नगदको दोब्बर धरौटी लिएर छाडेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले साउन २५ मा खेम्कालाई काठमाडौंको गणबहालबाट पक्राउ गरेको थियो । प्रहरीले उनको साथबाट नगद ९१ लाख ९६ हजार नगद तथा चेक र भौचरसहित २ करोड ९२ लाख २ हजार ८ सय ३ रुपैयाँ बरामद गरेको थियो । शक्तिकेन्द्रबाट दबाब दिएपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले बरामद भएको नगदको दोब्बर १ करोड ८२ लाख रुपैयाँ धरौटी राखी उनी छुटेका छन् । लाख दुई लाख रुपैयाँ हुन्डीको रकमसहित पक्राउ परेका ब्यक्तिलाई २४ दिन हिरासतमा राखी मुद्दा चलाएपछि मात्रै छोड्ने सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले खेम्कालाई ११ दिनमै धरौटीमा छाडेको छ ।
नेपालबाट हुने ९० प्रतिशतभन्दा अवैध हुन्डीको कारोबार खेम्काले गर्दैआएका छन् । हुन्डीका ठूला माछा तरुण खेम्कालाई छुटाउन नेकपा माओवादी केन्द्रका नेतादेखि अर्थमन्त्रालयका उच्च अधिकारी र नेपाल प्रहरीका उच्चपदस्थहरु पनि लागेका थिए । हुन्डीबाट अरबौं सम्पत्ति कमाएका खेम्काले माओवादी केन्द्रबाट मन्त्री भएर अकूत आर्जन गरेका नेतादेखि अर्थ मन्त्रालयका अधिकारी र प्रहरीका हाकिमहरुको भ्रष्टाचारको रकम चलाएका छन् ।
खेम्काले अवैध हुन्डी कारोबारबाट अरबौं रुपैयाँ सम्पत्ति आर्जन गरेको उनलाई चिन्नेहरु बताउँछन् । अबैध हुन्डी कारोबारबाट अरबौंपति भएका खेम्काको काठमाडौंको कमलपोखरीमा मात्रै १२ रोपनी जग्गा छ । खेम्काको बाफलमा पनि साढे ३ रोपनीमा बंगला छ ।
खेम्का हुन्डीमात्र होइन, सुन र डलरका समेत कारोबारी भएको प्रहरी स्रोत बताउँछ । भारतबाट बर्मा हुँदै नेपाल आएका उनी सुन, डलर र हुन्डीको अवैध कारोबार गरी अरबौंको साम्राज्य बनाउन सफल भएका हुन् । उनीसँग भारतको रासन कार्ड र नेपालको नागरिकता छ । उनका बाबु र भाइ पनि दोहोरो नागरिकताधारी हुन् । बाबु र भाइ पनि हुन्डी, डलर र सुनको कारोबारमै रहेका छन् ।
बीरगंज, बिराटनगर, धादिङदेखि विभिन्न जिल्लामा पनि उनको जग्गा रहेको छ । अवैध हुन्डीबाट अरबौंपति भएका खेम्का सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट सफाइ पाउनका लागि राजनीतिक नेतामार्फत् दबाब दिइरहेका छन् ।
नेपालमा हुन्डीका ठूला कारोबारी हुन् खेम्का । खेम्काले अर्थमन्त्रालय अन्तर्गत राजस्व समूहका उच्चपदस्थ अधिकारीहरुको भ्रष्टाचारको धन परिचालन गर्ने गरेका छन् । त्यसका अलावा माओवादी केन्द्रका नेताहरुको भ्रष्टाचारको रकम पनि उनले चलाउने गरेका छन् ।
खेम्काका बाबुको नाम ओम खेम्का हो । दसौं बर्षअघिदेखि सुन, डलर र हुण्डीको अबैध कारोबार गर्दै आएका तरूण खेम्काको अबैध कारोबारमा बिमल पोदार समेत साझेदार रहेको स्रोत बताउँछ । पोदार तिनै व्यक्ति हुन् जो साढे ३३ किलो सुन काण्डमा परेर जेल परी छुटेका थिए । पोदार अहिले पनि डलर र हुण्डी कारोवारमा संलग्न रहिरहेका छन् । पोदारले सुन तस्करी छानबिन गर्न बनेको इश्वर पौडेलको समितिसमक्ष बयान दिंदा हुन्डी कारोबार गरेको स्वीकार गरेका छन् । र, त्यस कारोबारमा उच्च प्रहरीलाई उनले सहयोग गरेको कुरा समेत बयानमा उल्लेख छ ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक रहिसकेका र केही महिनाअघि अर्थमन्त्रालयमा सरुवा भएका दीर्घराज मैनालीले हुन्डीका ठूला माछा भएको थाहा पाए पनि खेम्का परिवारलाई संरक्षण गरेका थिए । मैनालीले राजस्वमा हुँदा आर्जन गरेको सम्पत्ति पनि खेम्काले चलाउँदैआएका छन् । खेम्काका छोराको भारतको बृन्दाबनमा भएको विवाहमा मैनालीसमेत गएको स्रोत बताउँछ ।
खेम्काको उच्चपदस्थ प्रहरी अधिकारीसँग पनि घनिष्ठ सम्बन्ध रहिआएको छ । प्रहरी प्रशासनलाई प्रभावमा पार्दै हुन्डीको निर्वाध कारोबार गर्ने गर्दथे । प्रहरीले यसअघि सानातिना हुन्डी कारोबारीलाई पक्राउ गरे पनि खेम्कालाई छुन सकेको थिएन । तर महानगरीय प्रहरी परिसर काठमाडौंले खेम्कालाई हुन्डीको रकमसहित पक्राउ गर्न सफल भएको थियो ।
एसएसपी अशोक सिंहले हुन्डीका ह्वेल माछालाई पक्राउ गर्न सफल भएकोमा मारवाडी समुदाय नै अचम्मित भएको छ । हुन्डी कारोबारका डन खेम्कालाई कसैले छुन नसकेकोमा एसएसपी सिंहले पक्राउ गरेकोमा मारवाडी समुदाय आश्चर्यमा परेको छ ।

हुन्डी कारोबारमा बर्षौदेखि संलग्न खेम्का सम्पत्ति शुद्धिकरणबाट धरौटीमा छुट्नासाथ उक्त केसमा क्लीनचिट लिन शक्तिकेन्द्रमा धाइरहेका छन् । उनले भ्रष्टाचारको रकम लिएका माओवादीका नेताहरुबाट पनि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा दबाब दिइरहेको स्रोतले बताएको छ ।
प्रहरी परिसर काठमाडौंले पक्राउ गरेकै भोलिपल्ट साउन २६ मा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा बुझाइएका खेम्काबाट प्रहरीले नगद र बैंक भौचरसहित २ करोड ९२ लाख २ हजार ८ सय ३ रुपैयाँ बरामद गरेको थियो ।
खेम्काबाट ९१ लाख ९६ हजार नगद, डिपोजिट स्लीप ८० लाख ४३ हजार ३ सय १९ रुपैयाँ र चेक ३६ लाख ८३ हजार ४ सय ४८ रुपैयाँ प्रहरीले बरामद गरेको थियो ।