Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अर्थमन्त्रीको सचिवालयमा एकै परिवारको हालीमुहाली, सरुवामा हुँदैछ चलखेल


    सोमबार, भाद्र ७ २०७८
    935
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कनिष्ठ सचिवलाई अर्थ मन्त्रालयमा ल्याएपछि भाञ्जीज्वाईं भीमकान्त न्यौपानेलाई एसियाली विकास बैंक (एडीबी) को प्रतिनिधित्वका लागि गरेको सिफारिसको विषय व्यापक आलोचित भएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख हुँदा सुन तस्करी रोक्न नसक्ने नारायण सापकोटालाई भन्सार विभागको महानिर्देशक बनाएका छन् । सापकोटाकै पालामा नेपाल प्रहरीको सीआईबीले अवैध रुपमा भित्र्याएको ३३ किलो सुन विमानस्थलबाट बाहिरिएपछि बरामद गरेको थियो । 

    मन्त्री शर्माले ठूला करदाता कार्यालयको प्रमुख हुँदा एनसेलको पूँजीगत लाभकर छलीमा संलग्न शोभाकान्त पौडेलललाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाएका छन् । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा र ठूला करदाता कार्यालयका प्रम्ुख पौडेलको मिलेमतोमा ७२ अर्ब रुपैयाँ लाभकर छल्न सहयोग गरेको आरोप लागेको थियो । एनसेल एजियटालाई बिक्री गरिसकेपछि लाभकर नतिरी टेलियासोनेरालाई भगाउने भूमिका नै शर्मा र पौडेलले गरेका थिए । बिक्री गर्नेले लाभकर तिर्नुपर्ने भन्दै एजियटा पन्छिएको थियो । 

    त्यसैगरी अर्थमन्त्री शर्माले आफ्नो सचिवालयमा एउटै परिवारका सदस्यहरुलाई राखेर भन्सार र करका सरुवामा चलखेल गर्न थालेका छन् । आकर्षक भन्सार र कर कार्यालयमा सरुवाका लागि मन्त्री शर्माका सचिवालयमा रहेका कर्मचारीहरुले चलखेल सुरु गरेको कर्मचारी स्रोत बताउँछ । शर्माको जिल्ला रुकुमका एकै परिवारका ५ सदस्य अर्थ मन्त्रालयमा कार्यरत छन् ।

    मन्त्री शर्माले गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयबाट अर्थ मन्त्रालयमा ल्याएका सहसचिव रमेशकुमार केसी, उनका भाइ उपसचिव दिलीप केसी र शाखा अधिकृत कृष्णबहादुर केसी दाजुभाइ हुन् । रमेश केसीलाई अर्थको महत्वपूर्ण महाशाखा दिनेगरी मन्त्री शर्माले अर्थमा भित्र्याइसकेका छन् । संभवतः उनलाई अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखाको प्रमुख बनाउने योजनामा मन्त्री शर्मा छन् । अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखा प्रमुख यसअघि श्रीकृष्ण नेपाल थिए । उनी विश्वबैंकको सल्लाहकारमा गएपछि अहिले महाशाखा प्रमुख रिक्त छ ।

     दिलीप केसी हाल वीरगंज भन्सारमा कार्यरत छन् । उनलाई भैरहवा भन्सारमा लैजाने तयारी गरिएको छ । भैरहवा भन्सारको प्रमुखमा गत वर्ष उपसचिव बढुवा हुनासाथ पदस्थापन गरिएका मणिराम पौडेल छन् । तत्कालीन सचिव शिशिरकुमार ढुंगानाले पौडेललाई भैरहवा भन्सारमा पठाएका थिए । ढुंगाना १ नम्बर कर कार्यालयको  प्रमुख हुँदादेखि नै पौडेललाई उनको स्नेह  रहँदैआएको छ ।

     पौडेललाई २ वर्ष नपुगी तानेर मन्त्री शर्माका निकट दिलीप केसीलाई भैरहवा भन्सारको प्रमुख बनाउने निश्चित भइसकेको स्रोतको दावी छ । भन्सारमध्ये भैरहवा आकर्षक मानिन्छ । पौडेल २ बर्षसम्म बस्नका लागि अर्थमन्त्रालयका सचिव मधु मरासिनीसँग याचना गरिरहेका छन् ।
     अधिकृत कृष्णबहादुर केसी मन्त्री शर्माको निजी सचिवका रुपमा कार्यरत छन् । उनकी बहिनी सुवर्णप्रभा केसी नायब सुब्बा छिन् । उनलाई पनि मन्त्रीको सचिवालयमा राखिएको छ । उपसचिव दिलीप केसीकी श्रीमती ईश्वरी केसी पनि अर्थ मन्त्रालय अन्तर्गत नै कार्यरत छिन् । यो केसी परिवार मन्त्री शर्माका यजमान हुन् । मन्त्री शर्माका पिताजी केसी परिवारका पुरेत रहेका थिए ।

    अर्थका सरुवामा मन्त्री शर्माले केसी परिवारका सदस्यलाई नै सबै जिम्मेवारी दिएका छन् । माओवादी पार्टी खिइँदै गएकाले अब चुनाव जितेर सत्तामा आउने सम्भावना क्षीण देखिएपछि मन्त्रीहरु जसरी हुन्छ कमाउधन्दामा तल्लीन  रहेको आशंकालाई मन्त्री शर्माको सचिवालय गठन र सरुवामा हुँदै गरेको चलखेलले देखाउँदैछ ।

      हरेक वर्षको भदौमा अर्थका कर्मचारीको सरुवा हुने गर्दछ । अर्थअन्तर्गत आकर्षक भन्सार कार्यालयहरुमा वीरगंज, भैरहवा, रसुवा, विराटनगर, काकडभिट्टा, कृष्णनगर, नेपालगंज पर्दछन् । वीरगंज भन्सारको प्रमुखमा भर्खरै सहसचिव विश्वप्रसाद अर्याललाई पठाइएको छ । विराटनगरका भन्सार प्रमुख शिव भण्डारीको २ वर्ष अवधि पूरा भएको छ । उनी एक महिनाभित्रै अवकाश हुँदैछन् । अवकाशको मुखमा उनलाई सरुवा गर्न नियमत मिल्दैन । उनको अवकाशपछि विराटनगर भन्सारमा पनि सरुवा हुनेछ ।

    कृष्णनगर भन्सारमा जनार्दन पौडेल र नेपालगंज भन्सारमा जयबहादुर भण्डारी छन् । उनीहरुको एकवर्षमात्र भएको छ । राजश्व अनुसन्धान विभागमा केपी ओलीको सरकार हुँदा राईंदाईं गरेका महानिर्देशक दीर्घराज मैनालीको दबाबमा रसुवा भन्सारमा सरुवा भएका रामप्रसाद रेग्मीको पनि १ वर्ष पूरा भएको छ । आजको साँघु साप्ताहिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार