काठमाडौँ। जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो दलको नामसँग मिल्दोजुल्दो नाममा अन्य दल दर्ता नगर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
जसपा अध्यक्ष यादवले आफ्नो दलको नामसँग मिल्नेगरी नयाँ दल दर्ता गर्न आएको निवेदन रद्द गर्न निर्वाचन आयोगमा निवेदन दिएका हुन् । जसपा नेता प्रदीप यादवले सर्वोच्च अदालतको फैसलाले नै अरू दलसँग मिल्दोजुल्दो नाम राखेर दल दर्ता गर्न नपाइने भनेकाले सोहीअनुसार गर्न आयोगलाई ध्यानाकर्षण गराइएको जानकारी दिए ।
आयोगले जसपाको आधिकारिकता यादवलाई दिएपछि पार्टीविहीन बनेका ठाकुर पक्षले सरकारले राजनीतिक दल विभाजन सहज बनाउनेगरी अध्यादेश ल्याइदिएपछि नयाँ दल दर्ताका लागि बुधबार आयोगमा निवेदन दिएको थियो । आयोगले भने दल दर्ताका लागि निवेदन आएको र थप विषयमा अध्ययन भइरहेको जनाएको छ ।
कानुनी आधारबारेसमेत अध्ययन गरेर आयोगले दल दर्ताको निर्णय लिने जनाएको हो । ठाकुर पक्षले नयाँ दलको नाम जसपा (लोकतान्त्रिक) प्रस्ताव गर्दै आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ । यस्तै, नयाँ दलमा अध्यक्ष ठाकुरको नाम प्रस्तावित छ भने वरिष्ठ नेतामा राजेन्द्र महतोको नाम प्रस्ताव गरिएको छ । ठाकुर समूहको नयाँ दलमा २४ सदस्यीय कार्यकारिणी समिति प्रस्ताव गरिएको छ भने दलको निर्वाचन चिह्न साइकल प्रस्ताव गरिएको छ । राजधानीबाट