Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • ललिता निवासको जग्गा दर्ताका योजनाकारकी श्रीमतीलाई राजनीतिक नियुक्ति


    मंगलबार, साउन १९ २०७८
    3.3K
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौं । बहुचर्चित ललिता निवास क्याम्पको १ सय १४ रोपनी सरकारी जग्गा गैरकानुनी रुपमा दर्ता गर्नेमध्येका एक योजनाकार ब्यापारी सुहृदराज घिमिरेकी पत्नीलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको बोर्ड सदस्य बनाइएको छ । असार २९ मा सर्वोच्च अदालतको परमादेशले पदमुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राष्ट्रिय प्रकृति कोषका अध्यक्ष डा. कृष्णप्रसाद ओलीले ब्यापारी घिमिरेकी पत्नी रेखा घिमिरेलाई २०७८ असारमा कोषको बोर्ड सदस्यमा मनोनीत गरेका छन् । ललिता निवासको जग्गा सरकारका नाममा फिर्ता ल्याउने र दोषीलाई कारबाही गर्ने भन्दैआएका प्रधानमन्त्री ओलीले उक्त जग्गा अतिक्रमण गर्ने डिजाइनरकै श्रीमतीलाई कोषमा उद्यमी र परोपकारी कार्य गर्नेको कोटामा बोर्ड सदस्य बनाएका छन् ।  

    कृष्णप्रसाद ओली केपी ओलीका नाताले काका हुन्ु । कोषमा मन्त्रालयका सचिव अध्यक्ष रहने परम्परा थियो, तर केपी ओलीले त्यो परम्परा तोड्दै काका कृष्ण ओलीलाई अध्यक्ष बनाएका थिए । केपी ओलीको निर्देशनमा ललिता निवासको जग्गा दर्ताका योजनाकारमध्भ्येका ब्यापारी सुहृद घिमिरेकी श्रीमतीलाई नियुक्त गरेका छन् । ललिता निवासको १३ रोपनी जग्गा सुहृद घिमिरेकी सासुआमा इन्दु शर्माको नाममा रहेको छ ।  

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा गैरकानुनी रुपमा दर्ता गर्ने १७५ जनाबिरुद्ध २०७५ माघ २२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले मुद्दा दायर गरेकामध्येमा इन्दु शर्माको नाम पनि छ । सुहृदराज घिमिरे किया मोटरको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङका संचालक हुन् ।

    सुहृदराज घिमिरेले सासु, बिजनेश पार्टनर, श्रीमती र आमाको नाममा ललिता निवास बालुवाटारमा १३ रोपनी भन्दा बढी जग्गा छ । जसको बजार मूल्य अहिले १ अर्ब २५ करोड रुपैयाँभन्दा बढी पर्छ ।

    सासु र श्रीमतीका नाममा भए पनि ललिता निवासका जग्गा व्यापारी सुहृदराज घिमिरेकै हुन् । घिमिरेमाथि कर छली र अकुत सम्पत्ति आर्जनको उजुरी पनि छ । सम्पत्ति शुद्धिकरण विभागमा उनका बिरुद्धको उजुरी छानबिन नै हुन सकेको छैन । भर्जिन आइल्याण्डबाट कालोधन नेपाल भित्र्याउनेमा घिमिरे पनि एक हुन् ।  

    घिमिरेको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग पनि घनिष्ठता रहेको छ । राणाले घिमिरेलाई मन्त्री बनाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भनेको र उनले अस्वीकार गरेपछि असार २८ को परमादेश आएको चर्चा छ । सुहृद घिमिरेले श्रीमती रेखाको नाममा रहेको जग्गा बिक्री गरे पनि अझै ललिता निवासको बाहिरी भागमा उनको नाममा जग्गाजमिन रहेको छ । ब्यापारी घिमिरेले ललिता निवास बालुवाटारको जग्गा सासु इन्दु र श्रीमती रेखाको नाममा १३ वर्ष अगाडि प्रतिआना ५० हजारमै खरिद गरेको श्रेस्ता नै सार्वजनिक भइसकेको छ ।

    २०६३ साल मंसिर १३ गते इन्दु शर्माले बालुवाटारको दुई कित्ता जग्गा राजीनामा पास गरी किन्दा प्रतिआना ५० हजारमा किनेको भेटिएको छ । जबकि त्यो समयमा बालुवाटारको जग्गा कम्तीमा १२ देखि १५ लाख रुपैयाँ प्रतिआना थियो । सुहृदकी सासु इन्दुले पुरुषोत्तम पौड्याललाई जग्गा बिक्री गरेको देखाइएको छ । पौड्याल र घिमिरे कन्टिनेन्टल ट्रेडिङका व्यापारिक साझेदार हुन् ।

    ललिता निवासको जग्गा गैरकानुनी रुपमा दर्ता गर्ने मुख्य नाइकेहरुमा पर्दछन्, सुहृद घिमिरे । शोभाकान्त ढकाल, रामकुमार सुवेदी, भाटभटेनी सुपर स्टोरका संचालक मीनबहादुर गुरुङ, पुरुषोत्तम पौडेल र सुहृद घिमिरे ललिता निवासको जग्गा दर्ता गर्नेमध्येका हुन् ।

    ललिता निवासको जग्गा गैरकानुनी रुपमा दर्ता गर्ने रेखा घिमिरेले आफ्नो नाममा जग्गा नभएको प्रतिक्रिया दिइन् । उनले भनिन्–‘मेरो आमाको नाममा त्यहाँ जग्गा छ । मेरो नाममा होइन ।’

    ललिता निवासको जग्गा गैरकानुनी रुपमा दर्ता गर्नेमा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि हुन् । उनले ८ आना जग्गा घुसबापत छोरा नवीनको नाममा राखेका थिए । तर अख्तियारले छानबिन गरेपछि उनले उक्त जग्गा नेपाल सरकारको नाममा फिर्ता गरेको भन्दै छोरालाई मुद्दा दायर गर्नबाट उन्मुक्ति दिलाउन सफल भए । ललिता निवासको जग्गा गैरकानुनी रुपमा दर्ता गर्नका लागि शोभाकान्त ढकाल, रामकुमार सुवेदी, मिनबहादुर गुरुङ र सुहृदराज घिमिरेले नेपाली कांग्रेसबाट बिजय गच्छदार र एमालेबाट बिष्णु पौडेललाई सामेल गराएका थिए । बिष्णु पौडेलले ललिता निवासको जग्गा दर्ता गर्न सहयोग गरेबापत उक्त ८ आना जग्गा उपहारस्वरुप प्राप्त गरेका हुन् । प्रतिआना ५० हजार रुपैयाँ थैली देखाइएपनि उक्त रकम लेखिएको मात्र हो भन्ने कुरा शोभाकान्तदेखि सबै जानकार छन् । तर पौडेलले घुसबापत लिएको जग्गा फिर्ता गरेको भनी छोरालाई उन्मुक्ति दिलाएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार