काठमाडौं । नयाँ सरकार परिवर्तन हुनेवित्तिकै कर्मचारीतन्त्रको नेतृत्व तहमा रहेका सहसचिव र सचिवहरु रंग परिवर्तन गर्दै मन्त्रीहरुकोमा धाउने गर्दछन् । यसरी रङ परिवर्तन गर्ने सचिवहरुमध्ये अग्रपंक्तिमा पर्दछन् वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेल । उनी हरेक दिन बिहान ६ बजेदेखि नै नेपाली कांग्रेस र नेकपा माओवादीदेखि जसपाका नेताहरुको चाकडीमा धाउन थालेका छन् । वन मन्त्रालय कुन पार्टीको भागमा पर्छ भन्ने एकीन नहुँदै उनी बिहानदेखि राति १० बजेसम्म घरघरै देउसी खेल्न व्यस्त छन् । गृहमन्त्री बालकृष्ण खाँडकोमा पुगेर ढिलै भए पनि हजुरको उचित मूल्यांकन भएको छ भनेर जीहजुरी गर्न भ्याइसकेको चर्चा छ ।
नेपाली कांग्रेसका शक्तिशाली नेताहरुकहाँ उनी पुगिसकेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकहाँ लगेर वन सचिवमा निरन्तरता दिने जिम्मा टीसीएनका पूर्व महाप्रबन्धक तथा बिचौलियाका रुपमा बद्नाम रामचन्द्र भट्ट ‘चन्दने’ ले लिएका छन् । भट्ट देउवाका नाममा सरुवा बढुवादेखि ठेक्कापट्टाका काम मिलाइदिन्छु भन्दै सेटिङमा व्यस्त भइसकेका छन् । यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उनले लोकदर्शन रेग्मीलाई मुख्यसचिव बनाउने कार्य आफैले गरेको भनेर गफ दिंदै हिंड्ने गरेका थिए । रेग्मी मुख्यसचिव हुँदा भट्टको फोन आएपछि एक घन्टीमै रिसिभ गर्ने र गोप्य कोठामा गएर कुराकानी गर्न गर्दथे । यसले पनि रेग्मीसँग भट्टको साँठगाँठलाई पुष्टि गर्दछ । रेग्मीसँग भट्टको साँठगाँठ केपी ओली सरकारमा पनि निरन्तर रुपमै थियो ।
प्रधानमन्त्रीमा शेरबहादुर देउवा आइसकेपछि त भट्टको चुरीफुरी बढेको छ । उनले ‘प्रधानमन्त्रीज्यू र आरजु म्याम’को नाम लिंदै उनी सरुवा बढुवा, ठेक्कापट्टामा समेत चासो राख्ने गरेका छन् । डडेलधुरा घर भएका उनी आफूलाई देउवाले नेपाली कांग्रेसको महाधिवेशन खर्च उठाउने जिम्मा दिएकाले सचिवदेखि महानिर्देशक र राजनीतिक नियुक्ति हुनेहरुसँग डिल गर्न ब्यस्त छन् । उनको घरमा राम्रो मन्त्रालयमा सरुवाका लागि सचिवहरु नै धाउने गरेका छन् ।
त्यस्तै, वन मन्त्रालयका सचिव पेमनारायण कँडेलले २ वर्ष अगाडि नै प्रदेश मातहत गइसकेका जिल्ला वन कार्यालयहरुलाई संघअन्तर्गत फर्काउन लबिङ गर्दै आएका छन् । वन मन्त्रालय अन्तर्गत जिल्ला वन कार्यालय ल्याएर जिल्ला वन अधिकृत (डीएफओ) को सरुवामा आर्थिक लाभ लिने उनको दाउ छ । उनी बिहानदेखि बेलुकासम्म नेता र मन्त्रीको घरमा धाएर चाकडी गर्ने र वनसचिवमा निरन्तर कायम रहनका लागि प्रयासरत छन् । डीएफओको सरुवामा आर्थिक चलखेल गर्न पाइने भएकाले प्रदेश मातहत गइसकेका वन कार्यालयहरु संघमा फर्काउने संघीयताविरोधी हर्कतमा उत्रिएका छन् । उनी प्रदेश मातहत गइसकेको जिल्ला वन कार्यालयलाई संघीय सरकार अन्तर्गत ल्याउन भगिरथ प्रयत्नमा जुटेका छन् ।
यसअघि सचिव बढुवा हुनासाथ वन मन्त्रालयमा पदस्थापन भएका कँडेलले तत्कालीन वनमन्त्री प्रेम आलेको गर्नुसम्म चाकडी गरे । उनको बर्हिगमन भएपछि आएका १३ दिने वनमन्त्री नारदमुनि रानालाई ‘पिछडिएको समुदायबाट हजुर जस्तो विद्धान कोही मन्त्री पाइएको थिएन, आले त केही कुरै नबुझ्ने पटमुर्ख थिए’ भन्दै चाकडी बजाए । राना अदालतबाट पदमुक्त भएपछि वन मन्त्रालयको जिम्मा पाएका कृष्णगोपाल श्रेष्ठलाई ‘हजुर जस्तो काठमाडौं उपत्यकाकै लोकप्रिय नेतासँग काम गर्न पाउँदा मलाई बडो खुसी लागेको छ’ भन्दै नपच्ने खालको जीहजुरी गर्न भ्याए ।
यसअघिका प्रधानमन्त्री केपी ओली विश्वकै उच्च राजनेता भएको भन्दै एमालेका नेताहरुसँग भन्ने गरेका सचिव कँडेल आजभोलि ओलीजस्तो भ्रष्ट कोही छैन भन्दै कुरा काट्दै हिँड्न थालेका छन् । उनी कतिसम्म लोभी छन् भन्ने कुरा मन्त्रालयअन्तर्गतका महाशाखा र शाखाहरुबाट असार मसान्तमा बजेटको हिसाबकिताब माग्दै कमिसन खोजेपछि पुष्टि भएको छ । नेताहरुकँहा चाकडी गर्न बिहानैदेखि मध्यरातसम्म धाउने गरेकाले सचिव कँडेलका सवारीचालक समेत हैरान भएका छन् ।
कँडेलको बहुरंगी चरित्रबारे जानकारी भएका नेपाली कांग्रेस समर्थक वन प्राविधिकहरुले उनलाई मन्त्रालयमा राख्न नहुने सुझाव सम्बन्धित निकायमा दिइसकेका छन् । पूर्व वनमन्त्रीहरुले पनि वन मन्त्रालयमा कृष्ण आचार्यलाई ल्याउन सुझाव दिएका छन् । आचार्य हाल कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव छन् । उनको कार्यकाल ४÷५ महिनामात्र बाँकी भएकाले वन मन्त्रालयमा काम गर्ने इच्छा प्रकट गरेकाले उनलाई ल्याउनुपर्ने सुझाव वन प्राविधिकहरुले दिएको समाचार छ ।
यसैबीच, कृषि मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्की आइतबारबाट अवकाश भएका छन् । उनको अवकाशसँगै वन तथा कृषि समूहको एक सचिव पद रिक्त भएको छ ।