Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तीज गीत: कहिलेदेखि गाउन थालियो, अहिलेका गीतमा मौलिक मर्म किन झल्किँदैन ?


    आइतबार, साउन १७ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौँ । विवाह गरेर गएकी महिलाले आफ्ना भोगाइ अभिव्यक्त गर्न तीज गीत गाउने परम्परा रहे पनि अहिले तीजका गीतले शब्द, सङ्गीत, भाका कुनै पनि पक्षमा त्यो मर्म बोक्न नसकेको लोकगायक तथा लोकगीतबारे अध्ययन गरेकाहरूले बताउने गरेका छन्।

    लोक सङ्गीतका अध्येता डाक्टर गोविन्द आचार्यका भनाइमा अहिलेका तीज गीत ‘तीज गीत नभएर तीजका बेला गाइने गीत’ हुन्।

    उनका अनुसार कुनै पनि पर्वमा गाइने गीतमा तीन वटा पक्ष शब्द, सङ्गीत र प्रस्तुति झल्किनुपर्छ।

    ‘तीजमा अहिले गाइने गीतहरूमा न तीजको मर्म बोक्ने शब्द छन्, न प्रस्तुति छ र सङ्गीत नै,’ उनी भन्छन्, ‘त्यसैले अहिलेका गीतलाई ‘तीज गीत’ भन्न मिल्दैन ती केवल तीजका बेला गाइने गीत’ हुन्।

     

    गीतका भावमा परिवर्तन

    तीजका र अन्य थुप्रै लोक गीत गाइसकेकी लोक गायिका हरिदेवी कोइराला तीजका गीतले केवल महिलाका वेदना मात्रै नबोकी सामाजिक विषय पनि उठान गर्न सक्ने बताउँछिन्।

    उनका अनुभवमा आफूले गाउन थालेको बेलाको तीज गीत र अहिलेका तीजका गीतमा धेरै परिवर्तन आउन थालेका छन्।

    भातै र खाम्ला जेठो बुढो धानैको, तरकारी खाम्ला गाबा बरी लै

    लिन र आए भेट्न आए मेरा दाजै, बिर्साइ दिए आमा बरी लै

    लोक गायिका कोइरालालाई आफूले गाएका थुप्रै तीजगीत मध्ये यो माथिको गीत असाध्यै मनपर्छ।

    तर पछिल्ला समय गाउन थालेको उनको गीतको बोल यस्तो छ-

    ‍लेक फुल्यो लालीगुराँस, बेसी फुल्यो टोनी बरी लै

    जन्मै किन हेपिएको, यो छोरीको जुनी बरी लै

    यसरी तीजका गीतले सामाजिक पारिवारिक आयाम जोड्ने भएकोले मौलिकता बचाएर गीतमा विकृति विसङ्गति आउन दिन नहुने उनी बताउँछिन्।

    ‘हिजोको मौलिकता बचाउने हो न कि यसको व्यापार गर्ने। विकृति विसङ्गतिका रूपमा गीत गाएर र नाचेर तामझाम गर्न आवश्यक छैन,’ उनी भन्छिन्।

    ‘युट्युबमा भ्युज बढाउने वा व्यापारिक प्रयोजनका रूपमा बिगार्न पटक्कै हुँदैन।’

    अहिले धेरैजसो गीत सामाजिक सञ्जालमा खोलेर हेरिने हुँदा त्यसको दबाबले पनि विकृति विसङ्गति झल्किएको जानकारहरू बताउँछन्। बीबीसीको सहयोगमा तयार पारिएको यो रिपोर्ट)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार