काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्रालयको सचिवमा बरिष्ठ सचिवहरुमध्येबाट ल्याउने अपेक्षा प्रशासन क्षेत्रले गरेको छ । वर्तमान गृहसचिव महेश्वर न्यौपानेलाई सरुवा गर्ने लगभग निश्चित भइसकेको छ । उनले संचार तथा सूचना प्रविधि वा रक्षा मन्त्रालयमा सरुवा हुन पाउँ भन्दै विभिन्न बीचौलियामार्फत् प्रधानमन्त्री र उनको टिमका सदस्यहरुसँग याचना गरिरहेका छन् ।
देउवा सरकारका गृहमन्त्री बालकृष्ण खाँडले मन्त्रालयका महत्वपूर्ण महाशाखामा कांग्रेस पृष्ठभूमिका सहसचिवहरु गोविन्द रिजाल, फणिन्द्रमणि पोखरेलहरुलाई ल्याइसकेका छन् । सहसचिवहरु परिवर्तन गरिसकेपछि अब सचिवमा ल्याउने पात्रको खोजी मन्त्री खाँडले गरिरहेका छन् । गृहमन्त्रालयको सचिवमा भर्खरै सचिवमा बढुवा भई अतिरिक्त समूहमा रहेका कृष्णहरि पुस्कर कर्णलाई ल्याउने चलखेल भइरहेको छ ।
कर्ण विवादास्पद सचिव हुन् । उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि अनसनरत डा. गोविन्द केसीलाई ‘पागल’को संज्ञा दिंदै विज्ञप्ति निकालेका थिए । लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुृख भएको बेला कृष्णहरि प्रवक्ता थिए । कर्णकै उक्साहटमा डा. केसीलाई लोकमानसिंह कार्कीले ‘पागल’ को संज्ञा दिंदै निकालेको विज्ञप्तिको जनस्तरबाट चर्को बिरोध भएपछि सच्याउन बाध्य भएका थिए । अख्तियारको लेटरप्याडको दुरुपयोग गर्दै लोकमानको बचाउका लागि डा. केसीलाई ‘पागल’ संज्ञा दिएर वक्तव्य निकाल्न समेत तयार हुने कर्णलाई देउवा सरकारले गृहसचिव बनाएर पुरस्कृत गर्ने भएको हो । कर्ण २०७८ असार २४ मा सचिव बढुवा भएका हुन् । उनको पदस्थापन समेत भएको छैन । नयाँ बढुवा भएका सचिवलाई प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने प्रचलन छ । तर पुस्करलाई भने बढुवा हुनासाथ गृहमा पदस्थापन गर्ने पक्षमा मन्त्री खाँड छन् ।
सचिव कर्णले प्रधानमन्त्री देउवालाई पनि उनका साला भूषण राणमार्फत् कन्भिन्स गरिसकेका छन् । जबकि बरिष्ठ सचिवहरु यादव कोइराला, लक्ष्मण अर्याल, एकनारायण अर्याल, केवल भण्डारी, बेगेन्द्रराज शर्मा पौडेल, सुरेश अधिकारी, टेकनारायण पाण्डे, तोयम राया, सूर्यप्रसाद गौतम, दिनेश घिमिरेहरु छन् । केपी ओली सरकारको पालामा का्रग्रेस भएबापत पेलानमा परेका केवल भण्डारी, सुरेश अधिकारी, बेगेन्द्र पौडेलहरुलाई बाइपास गरी कर्णजस्ता विवादित पात्रलाई गृहसचिव बनाउने खेल भइरहेको छ ।
कर्णले लोकमानसिंहको कार्यकालमा स्वास्थ्य क्षेत्रको सुधारका लागि अनसन बस्दैआएका डा. केसीलाई ‘पागल’ को संज्ञा दिएर विज्ञप्ति मात्र निकालेनन्, कार्कीकै आदेशमा २०७२ मंसिरमा विभिन्न मन्त्रालयका बरिष्ठ सहसचिवहरुलाई अख्तियारमा बोलाएर अपमान गर्ने काम गरेका थिए ।
अख्तियारले भारतीय नाकाबन्दीको जटिल अवस्थामा कालोबजारी नियन्त्रणका लागि २०७२ मंसिर १३ गते बोलाएको छलफलमा तिनै प्रवक्ता पुष्करले आफूभन्दा बरिष्ठ सहसचिवलाई कारबाही गर्ने चेतावनी दिएका थिए । डिजेल र पेट्रोलमा कालोबजारी गर्ने र जग्गा खरिदमा डेढ अर्ब रुपैयाँ अनियमितता गर्ने तत्कालीन आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्कालाई आपूर्ति मन्त्रालयले स्पष्टीकरण सोध्दा उनको बचाउ गरेका थिए । गोपाल खड्कालाई केही कारबाही नगर्न कर्णले तत्कालीन आपूर्ति मन्त्री गणेशमान पुनलाई धम्कीकै भाषा प्रयोग गरेको अभिलेख अहिले पनि त्यतिबेलाको भिडियो हेरेमा प्रष्ट हुनेछ ।
सचिव कर्ण उपसचिव हुँदा श्रम मन्त्रालयमा तत्कालीन श्रम मन्त्री आफ्ताव आलमका विश्वासपात्र थिए । महाशाखा प्रमुख नै नराखी आलमले उनीमार्फत् बैदेशिक रोजगार विभागबाट घुस संकलन गर्ने गरेका थिए । विभागबाट हुने घुस आम्दानी देखेरै उनी टेकबहादुर गुरुङ श्रम राज्यमन्त्री हुँदा बैदेशिक रोजगार विभागको महानिर्देशक भएका थिए । तर गुरुङसँग कुरा नमिलेपछि उनी सरुवा भएका थिए ।
पुस्करजस्ता भ्रष्ट विगत भएका ब्यक्तिलाई अख्तियारको प्रवक्ता बनाउँदा अख्तियारप्रति हेर्ने दृष्टिकोण नै नकारात्मक बनेको थियो । उपसचिव हुँदा कृषि मन्त्रालयबाट सुजाता कोइरालाकी पीए सृजना अधिकारीमार्फत् तत्कालीन श्रम तथा यातायात मन्त्रालयमा सरुवा भएका पुष्करले त्यसपछि कहिल्यै पनि नराम्रो स्थानमा खटिनुपरेन । जहिले पनि उनले आकर्षक कार्यालयमा रम्ने र कमाउने मौका पाउँदै आए । माधव नेपाल नेतृत्वको सरकारका श्रममन्त्री थिए– मोहम्मद अफताव आलम । आलमले प्रशासन महाशाखाका प्रमुख सहसचिव भए पनि सरुवादेखि सबै काम उपसचिव पुस्करलाई नै दिएका थिए । पुस्करलाई आफ्तावले श्रम मन्त्रालयमा घुस संकलन गर्न परिचालन गरेका थिए ।
अख्तियार प्रवक्ता हुँदा कृष्णहरि पुस्करले डा. केसीलाई ‘पागल’ संज्ञा दिंदै निकालेको विज्ञप्तिः