Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाद्वारा गैरकानूनी शेयरको कारोबार, विवादित सर्वोत्तमको आइपीओमा छोरीलाई ‘गोल्डेन सेयर’


    बुधबार, साउन १३ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ प्रणालीबाट पहिला पटक ल्याउन लागेको आइपीओ विवादमा परेको छ ।

    समाचार स्रोत हिमालखबरका अनुसार सर्वोत्तम सिमेन्टको आइपीओ विवादमा परेको हो। जसमा सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत ६० लाख कित्ता साधारण सेयर जारी गर्न लागेको थियो । जसमा सर्वोत्तम सिमेन्टले प्रतिकित्ता ७५० रुपैयाँ मूल्य हुने तोकेका थियो ।

    धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाकी छोरी रेबिका ढुंगानाले १० हजार कित्ता सेयर किनेको भेटिएको छ । प्राप्त समाचार अनुसार रेबिकाले सर्वोत्तमले बुक बिल्डिङ प्रणाली प्रक्रिया सुरु भएपछि सर्वोत्तमको १० हजार कित्ता सेयर खरिद गरेकी छन् । रेबिकाले सेयर किनेपछि सर्बोत्तमले बोनस सेयर दिएको थियो । अहिले रेबिकासँग ११ हजार ९१२ कित्ता सेयर छ ।

    अमेरिका बस्ने अध्यक्ष ढुंगानाको छोरीको नाममा बुक बिल्डिङ प्रणालीमार्फत जारी हुन लागेको कम्पनीको सेयर किन्नु कानूनी र नैतिक हिसाबले अनैतिक देखिएको छ । यसले सर्वोत्तम सिमेन्टले मूल्यमा प्रभावित गराउनको लागि सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डका अध्यक्षको छोरीलाई गोल्डन सेयर दिएर प्रभावित बनाउन खोजेको देखिन्छ ।

    अध्यक्ष ढुंगानाले भने आफ्नो छोरीले कानून अनुसार सेयर किनेको हुँदा यसलाई समाचार बनाउनुपर्ने इस्यु नभएको बताएका छन्। ‘सर्वोत्तम सिमेन्टका लगानीकर्ता म धितोपत्र बोर्डमा आउनु अगाडि अमेरिका गएको बेला सेयर किन्ने सहमति भएको हो, यसमा विवाद बनाउनुपर्ने जरुरी छैन,’ढुंगानाले भने। 

    उनले विवाह गरेको र अहिले अमेरिकामा बस्ने छोरीले आफ्नो व्यवसायिक निर्णय आफूले लिन सक्ने हुँदा मेरो भूमिकासँग सर्वोत्तम सिमेन्टको सेयर खरिदका विषय जोड्न नहुँने बताए ।

    ‘सेयर बजारमा वास्तविक क्षेत्रका कम्पनी भित्राउनको लागि बुक बिल्डिङ प्रणाली ल्याइएको हो, जसले उत्पादन मुलक क्षेत्रका कम्पनी सेयर बजारमा आकर्षित हुने छन्, यसको मूल्यमा समेत धितोपत्र बोर्डको भूमिका हुँदैन,’ ढुंगानाले भने ।

    ढुंगानाको छोरीलाई व्यवसाय गर्ने अधिकार भएपनि उनी सेयर बजारको नियामक निकायको प्रमुख हुन् । बुक बिल्डिङ प्रणालीमा बजारलाई मूल्य तय गर्ने अधिकार भएपनि कम्पनीले दिनसक्ने फाइदा अध्यक्षलाई हुन्छ । त्यस आधारमा नियामक निकायमा बस्ने व्यक्ति र परिवारका सदस्यले सेयर कारोबार गर्न पाइदैन ।

    ‘सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ प्रणालीबाट आइपीओ जारी गर्ने प्रक्रिया सुरु गरेपछि नियामक निकायको अध्यक्षको छोरीले सेयर किनेपछि ढुंगानाले अध्यक्षको रुपमा काम गर्न मिल्दैन,’धितोपत्र बोर्डका एक उच्च अधिकारीले भने ।

    धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाको छोरीले सेयर किनेको हुँदा सर्वोत्तम सिमेन्टको आइपीओ प्रक्रियामा पनि छानबिन गर्नुपर्ने देखिएको छ । सर्वोत्तम सिमेन्टका अध्यक्ष उद्योगी बिष्णु न्यौपाने हुन् ।

    व्यवसायिक स्वार्थ गासिएको विषयमा स्पष्ट रुपमा नियामक निकायको अध्यक्ष संलग्न हुँदा यसले सेयर बजारमा राम्रो सन्देश गएको छैन ।

    धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले सेयर बजारमा जोखिममा रहेको भन्दै ५१ वटाको कम्पनीको सुचि सार्वजनिक गरेका थिए । जुन निकै आलोचित बनेको थियो ।

    ढुंगानालाई २०७६ साल पुस २१ गतेको मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई ४ वर्षको लागि धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । ३० वर्ष राष्ट्र बैंकमा बिताएका ढुंगाना धितोपत्र बोर्डको अध्यक्ष बन्ने बेला राष्ट्रपति विद्यादेवी भण्डारीको जोडमा बनेको चर्चा थियो ।

    सर्वोत्तम सिमेन्टले आर्थिक वर्ष २०७६/७७ मा रू.७७ करोड ७६ लाख नाफा कमाएको थियो। सोभन्दा अघिल्लो आर्थिक वर्ष यसको नाफा रू.१ अर्ब १७ करोड १७ लाख थियो। अध्यक्ष न्यौपानेका अनुसार, गत आर्थिक वर्ष २०७७/७८ मा यसको खूद नाफा सवा अर्ब हाराहारीमा हुने अनुमान गरिएको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार