काठमाडौं । शिक्षण संस्थाहरुले सञ्चालन गरेको अनलाइन कक्षाले विद्यार्थी र अभिभावकमा मानसिक समस्या देखिन थालेको भन्दै बन्द गर्न माग गरिएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद आशाकुमारी विकले अनलाइन कक्षाले बालबालिका र किशोरकिशोरीहरुमा डराउने, झस्किने, रिसाउने, जिद्धीपनाजस्ता व्यवहार देखिन थालेको जानकारी गराउदै बन्द गर्नु पर्ने माग गरेकी हुन् ।
आफ्ना छोराछोरीहरुमा यस्ता फरक व्यवहारले बुवाआमाहरु पनि चिन्तित् हुन लागेको भन्दै उनले अहिलेकै अवस्था रहिरहन दिने हो भने मानसिक अस्पतालको अभाव हुने संकेत देखिएको बताइन् ।
उनले अहिले विद्यार्थी र अभिभावमा देखिएको मानसिक समस्यामा सामान्यरुपमा लिन नहुने समेत बताइन् ।