काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायल जाने कामदारका लागि आवेदन खुल्ला गरेकाे छ ।
विभागले इजरायलको हेरचाह केन्द्रमा सहायक कामदारका लागि आज अनलाइन आवेदन खुल्ला गरेको हो ।
रोजगारीमा जान चाहनेले विभागको वेवसाइट http://ferms.dofe.gov.npमा गएर अनलाइन फाराम भर्न सक्ने छन् ।
सरकारी संयन्त्र (जीटुजी)मार्फत इजरायलमा कामदार पठाउने सम्झौता भए अनुसार विभागले औपचारिक रुपमा आवेदन खुल्ला गरेको हो । विभागका अनुसार इजरायलले सुसारे (केयरगिभर) कामका लागि एक हजार नेपाली श्रमिक लैजाने छ ।
विभागको जारी गरेको सूचना अनुसार इजरायलमा रोजगारको लागि मासिक नेपाली रुपैयाँ करिब १ लाख ९३ हजार हुन्छ । इजरायल जाने कामदारको खानाको प्रबन्ध आफैले मिलाउनुपर्ने भए पनि बस्ने प्रबन्ध भने रोजगारदाताले नै गर्ने छन् । एक पटक रोजगारमा जाने करार अवधि १ बर्षको हुने भए पनि करार थपिएर ५ बर्षसम्म बस्न पाइनेछ ।
बिभागको सूचना अनुसार इजरायलमा ३० प्रतिशत अर्थात ३ सय जना पुरुष कामदार र ७० प्रतिशत अर्थात ७ सय जना महिला कामदारले रोजगारको आवसर पाउनेछन् ।
केयरगिभरमा जान के–के योग्यता चाहिन्छ?
– नेपाली नागरिक २५ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेको ।
– उचाई कम्तिमा एक दशमलव पाँच मिटर (चार दशमलव नौ फिट) ।
– तौल ४५ केजी ।
– शैक्षिक योग्यता कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धि विषयमा १५ महिनाको अध्ययन पूरा गरेको अथवा १२ कक्षा वा सो सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यता प्राप्त प्रशिक्षण केन्द्रमार्फत तालिम लिएको ।
– अंग्रेजी भाषामा दक्ष ।
– शारीरिक तथा मानसिक रुपमा स्वस्थ र असल चरित्र भएको ।


