काठमाडौं । चीनसँग खरिद गरिएको भेरोसेल खोप लिएर नेपाल वायु सेवा निगमको विमान आज बेलुका काठमाडौं आइपुग्दैछ ।
निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलका अनुसार बुधबार राति गएको जहाज आज आइपुग्ने तालिका रहेको छ । सो जहाज आजै फेरि खोप लिन बेइजिङ जाने छ ।
यसअघि असार २५ गते सरकारले पहिलो पटक आठ लाख नौ हजार ६०० डोज खोप ल्याएको थियो ।
निगमले खोप ल्याउनका लागि बुधबार, बिहीबार र शनिबारका लागि नयाँ तालिका तय गरेको छ ।
यसअघि चीनले १८ लाख डोज खोप अनुदानमा दिएको थियो । यस्तै कोरोना विरुद्धको खोप अभियानअन्तर्गत अमेरिकी सरकारले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप अहिलेसम्म ८१ हजारभन्दा धेरैले लगाइसकेका छन् ।
जोन्सन एण्ड जोन्सन खोप अभियान अहिले वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मात्र सञ्चालन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अमेरिकाले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप असार २८ गते नेपाल आइपुगेको थियो । यो खोप वैज्ञानिक हिसाबले एक डोज मात्रै लगाउँदा पुग्छ ।