काठमाडौं । कोरोना विरुद्धको खोप लिन नेपाल एयरलाइन्सको तीन उडान आजबाट लगातार चीनको राजधानी बेइजिङ जाने भएकाे छ ।
नेपाल वायुसेवा निगमका अनुसार सरकारले चीनबाट खरीद गरेको दोस्रो खेप लिन आज साँझ जहाज बेइजिङ उड्दैछ । यो जहाज बिहीबार काठमाडौं अवतरण गर्नेछन् । बिहीबार साँझ जहाज पुनः बेइजिङ जाने छ ।
सो जहाज शुक्रबार काठमाडौं आउने छ । अर्को उडान शनिबार साँझका लागि तोकिएको छ । सो जहाज आइतबार काठमाडौं आउने छ । वाइडबडी जहाज ए-३३९ जहाजले एक पटकमा ८ लाख भन्दा केही बढी खोप ल्याउन सक्छ ।
यसअघि निगमले २५ असारमा पहिलो खेप ल्याएको थियो । सो बेला ८ लाख ९ हजार ६ सय डोज खोप नेपाल आएको थियो । सरकारले ४० लाख डोज खोप चीनबाट किनेको छ । चीनले थप १६ लाख डोज खोप अनुदानमा दिने बताएको छ ।