काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विगतमा श्रीमती डा.आरजु राणा देउवा, उनका साला भूषण राणा र प्रदीप राणाका कारण धेरै विवादमा परेपछि यो पटक उनीहरुको छायासमेत पर्नबाट जोगिने र सतर्कता अपनाउने निष्कर्षमा पुगेको स्रोत बताउछ । आरजु र उनका भाइहरुले ठेक्कापट्टादेखि कर्मचारी सरुवा बढुवामा समेत अनावश्यक हस्तक्षेप र चलखेल गरेका कारण देउवा चरम विवादमा पर्दै आएकाले यो पटक उनीहरुलाई नजिक पर्न नदिने पक्षमा नेपाली कांग्रेसको देउवा समूह रहेको स्रोतले बतायो ।
देउवानिकट कांग्रेसका एक केन्द्रीय सदस्यकाअनुसार प्रधानमन्त्रीले श्रीमती आरजुलाई ढाडको समस्या समाधान गर्न उपचारार्थ जापान पठाउने भएका छन् । आरजुलाई करिब ८÷१० महिना नै जापानमा उपचारका लागि पठाउने तयारी देउवाको रहेको छ । सासु प्रतिभा राणा जापानस्थित नेपाली राजदूत भएकाले आरजुलाई बसोबासको कुनै समस्या छैन । आमासँगै बसेर उनलाई ढाडको उपचार गर्नेगरी पठाउन लागिएको हो । आरजुको ढाडको हड्डीमा समस्या छ ।
विगतमा जस्तो आकर्षक मन्त्रालय वा आयोजना-परियोजनामा सरुवा हुन चाहने सचिवहरु भूषण राणा वा प्रदीप राणाको घरमा धाएर नहुने भएका छन् । आफन्तका कारण विगतमा बद्नाम भएकाले ७६ वर्षीय देउवा श्रीमतीसहित सालाहरुलाई टाढै राख्ने पक्षमा पुगेको देउवाका शुभ चिन्ताकले बताए ।
भूषण राणा बैंकिङ क्षेत्रमा संलग्न छन् । उनी कुनै बेला यति विकास बैंकको अध्यक्ष थिए । विगतमा देउवा प्रधानमन्त्री हुँदा सडकका अरबौंको ठेक्का सेटिङमा भूषणको नाम आउने गरेको थियो ।
प्रदीप राणा हवाई सम्बन्धी ब्यापारमा संलग्न छन् । उनी लुफ्थान्साका नेपाली एजेन्ट हुन् । उनले नेपाल वायुसेवा निगमका नियुक्ति र ठेक्कामा चासो राख्दैआएका छन् । आजको साँघु साप्ताहिकमा समाचार छ ।