काठमाडौं । लुम्बिनी विकास कोषको ठेक्कामा भएको अनियमितता सम्बन्धी मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका भाइ प्रभुशमशेर राणाले अनावश्यक चासो देखाएका छन् ।
स्रोतका अनुसार लुम्बिनी विकास कोषको ठेक्कामा ऐन नियम मिचेर पूर्वराज्यमन्त्री तथा एमालेका सांसद धनबहादुर बुढाको कम्पनीलाई ठेक्का दिएको र उक्त ठेक्का अपारदर्शी ढंगले सेटिङमा दिइएकोले निर्माण ब्यवसायी महासंघ गण्डकी प्रदेशले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाई राखिएको छ । भाइ प्रभुकै चासो रहेको उक्त मुद्दामा प्रधानन्यायाधीश राणाले आफ्नै बेन्चमा राखेका छन् । राणासँग इजलासमा अर्का न्यायाधीश नहकुल सुवेदी छन् । सुवेदीले राणासँग राय बझाउनै नसक्ने भएकाले भाइको स्वार्थ रहेको मुद्दामा उनले सुवेदीलाई राखेका छन् ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीसँग सेटिङ गरी पूर्वराज्यमन्त्री बुढाले आफैंलाई ठेक्का पर्ने गरी स्पेसिफिकेसन बनाई उक्त ठेक्का लिएका थिए । उक्त ठेक्कामा ऐन नियम अनुसार प्रतिस्पर्धा नगराई राज्यलाई ठूलो नोक्सान पार्न लागिएकाले रद्द गरी पुनः ठेण्डर गराउनका लागि उत्प्रेषणको आदेश माग गरिएको छ ।
गण्डकी प्रदेश निर्माण ब्यवसायी संघका बलिभद्र रानाले रिट दायर गरेका थिए । उक्त रिट खारेज गर्नका लागि पूर्वराज्यमन्त्री बुढाले प्रभुसँग सेटिङ गरेको स्रोत बताउँछ । स्रोतका अनुसार धनबहादुर बुढाले रिट खारेज गराउन २ करोडभन्दा बढीको डिल गरेका छन् ।