काठमाडौँ । भक्तपुरको घ्याम्पेडाँडामा सरकारी गाडीभित्र भएको यौन क्रियाकलापमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार राति घ्याम्पे डाँडाको जङ्गलमा गाडी रोकेर यौन क्रियाकलाप गरिरहेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार एक जना गाडीबाहिर बसेर रुँगिरहेका थिए भने ४१ वर्षीय जितबहादुर खत्री र २१ वर्षीया युवती यौन क्रियाकलापमा संलग्न थिए ।
प्रहरीलाई देखेपछि बाहिर रुँगिरहेका शम्भु कार्की त्यहाँबाट भागेका थिए भने प्रहरी आइपुगेको चाल पाएपछि जितबहादुर गाडीको ढोका खोलेर नाङ्गै त्यहाँबाट भागेका थिए ।
‘तर हामीले उनीहरुलाई लखेट्दै पक्राउ गरिहाल्यौँ’, भक्तपुरका प्रहरी प्रवक्ता दीपक गिरीले भने।
प्रारम्भिक सोधपुछमा युवतीले त्यस दिन आफू श्रीमानसँग झगडा गरेर निस्किएको र आफूलाई लिन बोलाएको पुरुष नआएकाले बाटामा एक्लै हिँडिरहेको अवस्थामा जितबहादुरसँग भेट भएको बताएको प्रहरीको भनाइ छ ।
युवतीलाई भेट्दा गाडीमा सवार दुवै जनाले मादक पदार्थ सेवन गरेको र युवतीले दुवैसँग यौन सम्बन्ध राख्न ‘सहमति’ गरेको बताइएको छ ।
अनुसन्धानका क्रममा उक्त गाडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको भएको खुलेको छ।
प्रहरीले मुलुकी फौजदारी अपराध ऐन २०७४ को दफा एक सय २३ मा व्यवस्था भएको सार्वजनिक स्थानमा यौन क्रियाकलाप
गर्न नहुने अनुसार अनुसन्धान सुरु गरेको छ। यस्तो कार्य गर्नेलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।