काठमाडौं । कोभिड–१९ को समयमा ६ महिनाअघि नेपाल हुँदै भारतमा चार्टर्ड उडानका लागि आएका दुई किर्गिस्तानी हेलिकोप्टर फिर्ता भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल छटपटीमा परेका छन् । किर्गिस्तानको हेलिस्काई कम्पनीले संचालन गरेका एमआई–१७ हेलिकोप्टर ६ महिनापछि निकै सास्ती पाएर फिर्ता भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले ती हेलिकोप्टरलाई किर्गिस्तान फिर्ताका लागि उडान अनुमति दिन शुभलाभ मागेको आरोप छ ।
भारतको दिल्ली जानका लागि आएका र ‘क्रु रेष्ट’ का लागि ती हेलिकोप्टर गएको जनवरी १ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरी राखिएका थिए । क्रु रेष्टका लागि राखिएकै समयमा कोभिड संक्रमण देखियो । नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द भए । उडान बन्द भएपछि ती हेलिकोप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरी राखिए । ती हेलिकोप्टर जनवरी १ मा बङ्गलादेशबाट काठमाडौँ आइपुगेका थिए ।
किर्गिस्तानी एमआई–१७ हेलिकोप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएदेखि नै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले दुःख दिन सुरु गरे । हेलिकोप्टर राख्न नपाइने भन्दै उनले सिज गर्ने धम्की दिंदै मोलमोलाई पनि सुरु गरेको खुलेको छ । ६ महिनासम्म उनको मोलमोलाईको शृंखला नै चलिरह्यो । सुरुमा नेपालमा क्रु रेष्टका लागि बंगलादेशबाट आउन स्वीकृति दिएका महानिर्देशक पोखरेलले पछि उडान अनुमति नदिएर करोडौं रुपैयाँ मोलमोलाई गरेका थिए ।
स्रोतका अनुसार किर्गिस्तानी हेलिकोप्टरलाई उडान अनुमति दिनका लागि महानिर्देशक पोखरेलले मोलमोलाई गर्न नेपालगञ्जमा बोलाएका थिए । काठमाडौंमा कुरा नगर्ने भनी नेपालगंजमा बोलाई उनी अगाडिको उडानमा गई हेलिकोप्टरका संचालकलाई पछिल्लो उडानमा गएका थिए । नेपालगन्जका एक काठ ब्यापारी एमाले नेताको रोहबरमा १५ दिनको लागि सहमति दिएका पोखरेलले छोरालाई हेलिकोप्टर कम्पनीमा आकर्षक तलव र महत्वपूर्ण पद दिनुपर्ने सर्त समेत राखेका थिए ।
पोखरेलले छोरालाई जागिर दिएमा किर्गिस्तानको हेलिस्काई एयरका ती हेलिकोप्टरलाई नेपालमा बिपत ब्यवस्थापनको लागि अनुमति दिने समेत आश्वासन दिएका थिए । पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुट्ठीका मानिस हुन् भनेर नेपालमा बिपत ब्यवस्थापनका लागि हेलिस्काईका हेलिकोप्टरलाई अनुमति दिने प्रस्ताव गरेका थिए । ६ महिनादेखि पार्किङ गरिएका हेलिकोप्टर किर्गिस्तानमा फिर्ता लैजानका लागि हेलिस्काईका अधिकारीहरु सरकारका विभिन्न निकायमा हारगुहार गर्न पुगेको कुरा थाहा पाएपछि पोखरेलले कहीँ जानुपर्दैन, मैले भनेअनुसार गरेमा स्वीकृति दिन्छु भन्दै बार्गेनिङ गरेका थिए ।
हेलिस्काईले विमानस्थलमा पार्किङ गरी राखिएका हेलिकोप्टर मर्मतका लागि जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीलाई भित्र जान पास नै नदिन निर्देशन दिएको गुनासो पनि किर्गिस्तानीले विभिन्न ठाउँमा गरेका थिए । नियम अनुसार लाग्ने कर तिर्दा पनि किर्गिस्तानीलाई उनले घुस मागेर हैरान पारेको स्रोत बताउँछ । आइकाओको नियम अनुसार क्रु रेष्टका लागि आएको हेलिकोप्टरलाई फिर्ता हुन उडान अनुमति नदिई नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा बदनाम गराउने काम पोखरेलले गरेका छन् । रसियाको कजान हेलिकप्टरले निर्माण गरेका ती एमआई–७ हेलिकप्टर ३० वर्ष पुराना हुन् ।
यसैबीच, महानिर्देशक पोखरेलले नागरिक उड्डयन प्राधिकरण अन्तर्गतका राष्ट्रिय गौरबका आयोजनाका ठेकेदारहरुलाई भुक्तानी रोकेर दुःख दिई घुस बार्गेनिङ गर्ने गरेको आरोप छ । भैरहवा, पोखरा जस्ता विमानस्थलको निर्माण कार्यको भुक्तानी रोकेर उनले मोलमोलाई गर्दैआएका छन् । पोखरेलले प्राधिकरण फुटाएर आफू पुनः नियुक्ति हुने दाउमा छन् । त्यसका लागि राष्ट्रिय गौरबका आयोजनामा उनले भुक्तानी रोकेर ठेकेदारहरुसँग घुस असुली अभियान नै चलाएको आरोप छ ।