काठमाडौं । चीनले नेपाललाई अनुदानमा दिएको कोरोनाविरूद्धको खोप निर्देशिकाविपरीत भारतीय व्यापारीलाई लगाइएको छ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका एक चिकित्सकका अनुसार हुलका हुल भारतीयहरू आएर चीनबाट प्राप्त ‘भेरोसेल’ खोप लगाएका हुन्।
चीनले आफ्नो देशमा आउने मानिसहरूलाई आफूले नै उत्पादन गरेको खोप अनिवार्य गरेपछि चीनमा कारोबार गर्ने भारतीय व्यापारीहरू खोप लगाउन नेपाल आएका हुनसक्ने ती चिकित्सकले बताए।
‘म आफैं टिकट काट्ने ठाउँमा थिएँ। दश जना बढी भारतीयहरू खोप लगाउन भनेर लाइनमा थिए। अस्पतालले आनाकानी गर्दा कतिले जबरजस्ती पनि गरे,’ उनले भने, ‘हिन्दी बोल्ने, पासपोर्ट पनि नभएको र कागजात माग्दा कसैले सोधेको छैन भनेर झगडा नै गर्न खोजे।
सरकारले सुरूमा चीनमा अध्ययन गर्ने विद्यार्थी, चीनमा कारोबार गर्ने व्यापारीलाई दिनु भन्यो। पछि फेरि ४० वर्ष माथिका सबैलाई दिनू भन्यो। त्यसपछि पार्सपोर्ट देखाएपछि भैगो नि।’
उनले भारतबाट आएकाहरूले दूतावासको कार्ड देखाएको र त्यसमा चिनियाँ अक्षर लेखेको हुँदा केही नबुझिएको बताए। पछि शंका लागेर कडाइ गर्न खोज्दा झगडा नै गर्न खोजेको उनले बताए।