Nepal Face
  • बिहिबार, ६ कार्तिक २०८३
  • पूर्व राष्ट्रपति भण्डारी चीन प्रस्थान


    बिहिबार, कार्तिक ६ २०८३
    45
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन् । चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुनका लागि उनी आज त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

    परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुदैँछ ।

    सो सम्मेलनलाई पूर्व राष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

    उक्त सम्मेलनअन्तर्गत अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल र गोलमेच बैठक पनि आयोजना गरिएको छ ।

    फोरममा संयुक्त राष्ट्रसंघ केन्द्रित अन्तरराष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति र शान्ति स्थापना कार्यमा आवश्यक पर्ने सुधार, बहुपक्षीयताको प्रवर्द्धन, अन्तरराष्ट्रिय सम्बन्धमा विकासशील मुलुकको बढ्दो भूमिका तथा अन्तरराष्ट्रिय व्यापारमा ‘ग्लोबल साउथ’का मुलुकको भूमिकालगायतका विषयमा छलफल हुनेछ ।

    त्यसैगरी सो सम्मेलनमा जलवायु परिवर्तन र यसको असर, हरित तथा न्यून कार्बन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर स्पेसलगायतका विषयमा पनि बहस हुने बताइएको छ ।

    पूर्व राष्ट्रपति भण्डारी आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार