काठमाडौँ । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला हुने भएको छ। चाडपर्वमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको चापलाई सुरक्षित र व्यवस्थित रूपमा व्यवस्थापन गर्न लामो दूरीका सवारीसाधनमा दुई जना चालक अनिवार्य गर्ने निर्णयसमेत भएको छ।
यातायात व्यवस्था विभागमा मंगलबार भएको सरोकारवाला निकायको बैठकले अग्रिम टिकट बुकिङ खुला गर्ने मिति तय गर्दै यात्रु सुरक्षा, भाडा अनुगमन र टिकट व्यवस्थापनसम्बन्धी विभिन्न निर्णय गरेको हो।
बैठकमा यातायात व्यवसायी, यातायात श्रमिक संगठन, नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा नयाँ बसपार्क व्यवस्थापन पक्षका प्रतिनिधि सहभागी थिए।
अखिल नेपाल यातायात मजदुर संगठनका अध्यक्ष दीपक केसीका अनुसार सरोकारवाला निकायबीचको छलफलपछि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको हो।
लामो दूरीमा दुई चालक, यात्रुको विवरण अनिवार्य
चाडपर्वमा यात्रुको चापसँगै सडक सुरक्षाको जोखिमसमेत बढ्ने अवस्थालाई ध्यानमा राखेर लामो दूरीका यात्रुवाहक सवारीमा दुई जना चालक अनिवार्य गर्ने निर्णय भएको छ।
टिकट काउन्टरमा बस्ने कर्मचारीले परिचयपत्र र पोसाक लगाउनुपर्ने तथा टिकट जारी गर्दा यात्रुको नाम र सम्पर्क नम्बर अनिवार्य रूपमा अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ।
यात्रुवाहक सवारीसाधनमा प्राथमिक उपचार सामग्री, अग्नि नियन्त्रण उपकरण र पिउने पानीलगायत अत्यावश्यक सामग्रीको व्यवस्था गर्नुपर्ने निर्णयसमेत बैठकले गरेको छ।
राजमार्गमा हुने दुर्घटना, सडक अवरोध तथा अन्य आकस्मिक अवस्थाबारे तत्काल सूचना आदानप्रदान गर्न केन्द्रीय सूचना केन्द्र सञ्चालनमा ल्याइने भएको छ।
बढी भाडा र टिकट अनियमिततामा कारबाही
चाडपर्वको मौका पारेर तोकिएकोभन्दा बढी भाडा असुल गर्ने, टिकटमा अनियमितता गर्ने तथा कालोबजारी गर्नेविरुद्ध कानुनी कारबाही गरिने भएको छ।
टिकट वितरणलाई पारदर्शी बनाउन यातायात व्यवस्था विभाग, व्यवसायी र सुरक्षा निकायबीच समन्वय गरी अनुगमनलाई प्रभावकारी बनाउने सहमति भएको छ।
बसपार्क तथा टिकट काउन्टरमा यात्रुको अत्यधिक चाप हुने अवस्थालाई ध्यानमा राखेर सुरक्षा निकायको परिचालन बढाउने र यात्रुले टिकट लिन अनावश्यक सास्ती व्यहोर्नुपर्ने अवस्था आउन नदिन आवश्यक व्यवस्थापन गर्ने निर्णयसमेत भएको छ।
१० लाखभन्दा बढीले उपत्यका छाड्ने आकलन
यस वर्ष दसैँका क्रममा १० लाखभन्दा बढी यात्रुले काठमाडौँ उपत्यका छाड्ने आकलन गरिएको छ। ठूलो संख्यामा यात्रु एकै समयमा बाहिरिने भएकाले सवारीसाधनको उपलब्धता, टिकट वितरण, भाडा नियन्त्रण र सडक सुरक्षालाई एकीकृत रूपमा व्यवस्थापन गर्नुपर्ने चुनौती देखिएको छ।
केही यातायात कम्पनीले अनलाइनमार्फत टिकट बुकिङ लिन सुरु गरे पनि औपचारिक रूपमा अग्रिम टिकट खुल्ने मिति तय नहुँदा यात्रुमा अन्योल थियो। असोज २३ देखि अग्रिम टिकट खुलाउने निर्णयसँगै चाडपर्वका लागि घर जाने यात्रुले औपचारिक रूपमा अग्रिम टिकट लिन सक्नेछन्।
बैठकमा सहभागी निकायहरूले दशैं–तिहार तथा छठका बेला हुने यात्रुको अस्वाभाविक चाप व्यवस्थापन गर्दै सुरक्षित, सहज र मर्यादित सार्वजनिक यातायात सेवा उपलब्ध गराउन समन्वयात्मक रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मंगलबार भएको मनोनयनमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन् । शर्मा बरिष्ठ उपसभापति र भूसाल...
काठमाडौँ। नेपाली कांग्रेसकी नेत्री सीता गुरुङले उपसभापतिमा उम्मेदवारी दिएकी छन्। कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत महिलातर्फ उपसभापतिमा उम्मेदवारी दिएकी हुन्। उनी यसअघि केन्द्रीय सदस्य थिइन्। गुरुङ कांग्रेसमा लामो...
काठमाडौँ। नेपाली कांग्रेसका पूर्वउपसभापति धनराज गुरुङले फेरि उपसभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । उनी १४ औं महाधिवेशनमा उपसभापति निर्वाचित भएका थिए । त्यो बेला डा....
काठमाडौँ। नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन् । अहिले धमाधम कांग्रेस महाधिवेशनको केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता भइरहेको छ । यसैबीच शर्माले...
काठमाडौँ। नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्कीले सभापतिमा उम्मेदवारी दिएका छन्। कांग्रेस महाधिवेशनअन्तर्गत मंगलबार खड्कीले सभापतिमा उम्मेदवारी दिएका हुन्। सभापतिमा गगन थापा प्रतिस्पर्धी छन्। थापाले उम्मेदवारी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend