Nepal Face
  • सोमबार, १२ असोज २०८३
  • पूर्वप्रधान न्यायाधीशको गिरफ्तारीबारे प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग


    सोमबार, असोज १२ २०८३
    115
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले वर्तमान सरकार निरंकुश शैलीमा अघि बढेको आरोप लगाएका छन्।

    सोमवारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद ढुंगानाले बिनापुर्जी र मध्यरातमा पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेरचोलेन्द्र शमशेर जबरालाई गरिएको गिरफ्तारीलाई पञ्चायती शासनको पुनरावृत्ति भन्दै आपत्ति जनाएका हुन् ।

    सांसद ढुंगानाले कानूनको शासन उपहास भइरहेको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे । उनले पूर्वप्रधान न्यायाधीशको गिरफ्तारी र अन्य समसामयिक घटनाहरूको सन्दर्भमा प्रधानमन्त्री र गृहमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गरे ।

    बाढीपीडितको अवस्था र पछिल्ला प्राकृतिक विपद्का घटनाहरूबारे पनि सरकार मौन रहेको भन्दै उनले जिरो आवरमा बोलेका कुराहरूको सुनुवाइ नभएको गुनासो गरे । सरकारले सुशासनको नारा दिए पनि व्यवहारमा भने हुकुमी शासन लाद्न खोजेको ढुंगानाको जिकिर छ ।

    उनले भने, ‘हिजो पञ्चायतकालमा सिभिल ड्रेसमा आएर विना जानकारी गिरफ्तारी हुन्थ्यो, आज लोकतन्त्रमा पनि त्यस्तै अवस्था देखिनु चिन्ताजनक छ । दुई तिहाइको दम्भमा सरकारले स्वेच्छाचारी निर्णय लिइरहेको छ । जुनसुकै घटनामा सरकारले संसद्लाई जानकारी दिनुपर्ने र जनताप्रति उत्तरदायी हुनुपर्ने संवैधानिक दायित्व बिर्सन मिल्दैन ।’

    उनले लोकतन्त्र र संविधानको रक्षाका लागि नेपाली जनता र युवा पुस्ता बलिदान दिन पनि तयार रहेको चेतावनी दिँदै सरकारलाई सच्चिन आग्रह गरे । यदि सरकार निरङ्कुशतातर्फ नै अघि बढिरहने हो भने त्यसले देशलाई गम्भीर दुर्घटनातर्फ धकेल्ने उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार