Nepal Face
  • सोमबार, १२ असोज २०८३
  • दशैं, तिहार, छठको समयमा यातायात सहज बनाउन सरकारलाई निर्देशन


    सोमबार, असोज १२ २०८३
    140
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्व लक्षित यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ ।

    सिंहदरबारमा सोमबार बसेको समिति बैठकले दशैं,तिहार,छठ लगायतका चाडपर्वमा यात्रुको चाप अनुसार पर्याप्त सवारी साधन व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको हो ।

    निर्धारित बसपार्कबाट मात्र सवारी सञ्चालन गर्ने,तोकिएको स्थानबाट टिकट बिक्री गर्ने तथा सुरक्षित स्थानमा मात्र यात्रु चढाउने र ओराल्ने व्यवस्था मिलाउन निर्देशन दिइएको समिति सभापति आशिष गजुरेलले जानकारी दिए।

    बैठकले अपाङ्गता भएका व्यक्ति,ज्येष्ठ नागरिक, महिला तथा बालबालिका–मैत्री सेवा,यात्रु सहायता कक्ष तथा आवश्यक सहजीकरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ भने सडकको अवस्था र सम्भावित जोखिमको पूर्वमूल्याङ्कन गर्ने,वैकल्पिक मार्गको तयारी राख्ने,सवारी साधनको प्राविधिक परीक्षण गर्ने,चालकको पर्याप्त विश्राम तथा गति नियन्त्रण सुनिश्चित गर्ने व्यवस्था गर्न समेत निर्देशन दिइएको सभापति गजुरेलले बताए।

    यात्रुले टिकट नपाउने,तोकिएभन्दा बढी भाडा तिर्नुपर्ने,अनियमितता वा ठगी व्यहोर्नुपर्ने अवस्था आउन नदिन सहज टिकट उपलब्धता,भाडादरको प्रभावकारी कार्यान्वयन र बलियो गुनासो सुनुवाइ व्यवस्थासहितको कार्ययोजना तत्काल तयार गरी लागू गर्न पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको उनले जानकारी दिए।

    बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले बीपी राजमार्गलाई १० दिनभित्र वैकल्पिक ट्रयाक खोलेर वा अन्य विधिबाट सुचारु गरिने स्पष्ट पारे । चाडपर्वका लागि गाडीको प्रि–बुकिङ,अनलाइन बुकिङ तथा नियमित अनुगमनको व्यवस्था मिलाइने उनले जानकारी दिए।

    बैठकमा समिति सदस्यहरूले चाडपर्वका समयमा देखिएका समस्यामा यातायात व्यवस्थापनलाई समाधानका लागि गम्भीर हुन ध्यानाकर्षण गराएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार