Nepal Face
  • बिहिबार, १ असोज २०८३
  • नेपालमा आगजनीको समर्थनमा बोल्यो–लेख्यो भने ताली, विरोधमा बोले गाली पाइन्छ :भगवती न्यौपाने


    बिहिबार, असोज १ २०८३
    70
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । नेकपा(एमाले) की नेतृ तथा पूर्व सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले ग्रेजोन अनलाइनले भदौ २३ र २४ सम्बन्धमा प्रकाशित गरेको सामग्रीले ठूलो होहल्ला भइरहेको बेला सर्वोच्च अदालतमा तेस्रो पटक आगजनी भएको बताएकी छन् । न्यौपानेको प्रश्न छ–यसको जवाफ कसले दिने ? बुधबार बिहान सर्वोच्च अदालतमा आगो लगाइएको घटनाको ग्रेजोनमा नाम परेकाहरुले जवाफ दिनुपने उनको धारणा छ ।

    पूर्वमन्त्री न्यौपाने चिन्ता प्रकट गर्दै लेख्छिन्–आजकाल नेपालमा यस्ता आगजनीको समर्थनमा बोल्यो लेख्यो भने ताली पाइन्छ । विरोधमा बोल्यो भने गाली पाइन्छ । के हुन लाग्यो हाम्रो नेपालमा ?

    सामाजिक संजालमा उनले लेखेकी छन्–केही गम्भीर प्रश्न उठाउनैपर्ने भयो :

    बुधबार बिहान सर्वोच्च अदालतमा आगो लगाइएको छ । साढे १२ महिनामा यो तेस्रो आगजनी हो ।

    दि ग्रेजोन अनलाइनले भदौ २३ र २४ सम्बन्धमा प्रकाशित गरेको सामग्रीले ठूलो होहल्ला भइरहेको बेला यो आगजनी भएको छ ।

    ग्रेजोनले प्रकाशित गरेका तथ्यहरु उपर कसले जवाफ दिने ? अरुले जवाफ दिएर हुँदैन, सरकारले जवाफ दिनुपर्छ । त्यसमा नाम परेकाहरुले जवाफ दिनुपर्छ । जवाफबाट भाग्न कसैले पाउँदैन ।

    म यहाँ ग्रेजोनको चर्चा गर्दिनँ, गत वर्ष न्यूयोर्क टाइम्सले नेपालमा भदौ २३ र २४ गते गरिएको आगजनी सम्बन्धमा अति गम्भीर प्रश्न मात्र उठाएको थिएन, तथ्यहरु पनि सार्वजनिक गरेको थियो ।

    मैले न्यूयोर्क टाइम्सले निकालेका तथ्यहरुको चर्चा गर्नुको कारण छ । आज बिहान मात्रै सर्वोच्च अदालतको संवेदनशील फाँटहरुमा छानीछानी आगो लगाइएको छ । नेपालमा आगो लगाउन तालिमप्राप्त ग्रुप कोसँग छ ? यो कुरा बुझ्न पनि न्यूयोर्क टाइम्सले उठाएका तथ्यहरुलाई हेर्नुपर्ने हुन्छ ।
    न्यूयोर्क टाइम्सले दिएका केही तथ्यहरु..

    १. सिंहदरबार सहित विभिन्न भवन जलाउँदा बीचमा एक–एक तला छोडेर आगो लगाइएको छ । भवनहरू जलाउनका लागि प्रयोग गरिने यस्तो तरिका भीडले थाहा पायो भन्न मिल्दैन । यस्ता तरिकाहरु सबै सिकेर गएको समूहले आगो लगायो ।

    २. आगजनी भएको आधा घण्टा भित्रै कालो धुवाँ, आगोको मुस्लोको स्वरुप लगायत हेर्दा अति प्रज्वलनशील रासायनिक पदार्थहरू प्रयोग गरेको देखिन्छ । सोडियम, म्याग्नेसियम जस्ता खास प्रकारका पदार्थ प्रयोग गरिएको हुनसक्छ ।

    ३. नेपाल प्रहरीको फरेन्सिक ल्याबका शाखा अधिकृत पवन ढुंगानाले न्यूयोर्क टाइम्ससँलाई आगलागीमा रासायनिक पदार्थ प्रयोग भएको बताएका छन ।

    ४. सिङ्गापुरका आगलागी विज्ञ केनेथ किले आगजनीको विष्लेशण गर्दा सोडियम र म्याग्नेसियमजस्ता रासायनिक तत्व प्रयोग गरिएको कुरा न्यूयोर्क टाइम्सलाई बताएका छन ।

    ५. सिंहदरबार आगलागीका दौरान त्यहाँ भएका युवाहरूको हातमा एक्कासि पेट्रोल बम लगायत अन्य तयारी अवस्थाका ज्वलनशील पदार्थ दिलाइएको थियो । यसरी ओसार्नेमा केही अधबैँसे मानिस पनि संलग्न थिए । हातमा बन्दुक तथा घरेलु हतियार लिएका केही प्रदर्शनकारी कार्यालयमा घेरा हालिरहेका थिए ।

    ६. आगलागी प्रतिरोधी अवस्थामा राखिएका संवेदनशील दस्ताबेजहरू पूर्वजानकारी भएजसरी नै खोजीखोजी जलाइएको छ । यस्तो सूचना कसरी प्राप्त भयो ? कसले यस्ता सामग्री तयार गर्ने तथा आपूर्ति गर्ने काम गर्‍यो ?

    ७. जेलबाट निस्किएका नेताहरू तथा आन्दोलनलाई उग्र बनाउने समूहका नेताका घर भने सुरक्षित किन भयो ? न्यूयोर्क टाइम्सले उठाएको प्रश्न हो यो ।

    ८. न्यूयोर्क टाइम्सले प्राप्त गरेका निगरानी भिडिओ र प्रहरी स्रोतका अनुसार, काठमाडौं, पोखरा र विराटनगरमा भएका आगजनीहरू एउटै समयमा सुरू भएका थिए । काठमाडौंको मीनभवनस्थित सरकारी कार्यालयमा आगो लगाउने व्यक्तिहरू उस्तै पहिरनमा थिए र एउटै दिशाबाट समन्वित रूपमा प्रवेश गरेका देखिन्छन् ।

    आजकाल नेपालमा यस्ता आगजनीको समर्थनमा बोल्यो लेख्यो भने ताली पाइन्छ । विरोधमा बोल्यो भने गाली पाइन्छ । के हुन लाग्यो हाम्रो नेपालमा ?

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार