काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बाढीपीडित नागरिकहरुको साथमा राज्य रहेको बिश्वास दिलाएका छन् । यो कठिन घडीमा राज्य नागरिकको साथमा रहेको बताएका छन् । राज्य सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ भन्दै उनले नागरिकलाई कृपया धैर्य धारण गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री शाहले नागरिकहरुलाई आश्वस्त पार्दै लेखेका छन्–‘तपाईंहरूको उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिन्छ ।’
सामाजिक संजालमा प्रधानमन्त्री शाहले लेखेका छन्–
आदरणीय आमाबाबु, दिदीबहिनी तथा दाजुभाइहरू,
आज म अत्यन्तै भारी मन लिएर तपाईंहरूमाझ उभिएको छु । आज बिहान रसुवाको भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले पुर्याएको ठूलो मानवीय र भौतिक क्षतिले सिङ्गो देशलाई नै स्तब्ध र मर्महत बनाएको छ । प्राकृतिक विपद्को यो अप्रत्याशित बज्रपातले हाम्रा धेरै दाजुभाइ, दिदीबहिनी र साना–साना बालबालिकाहरूलाई गहिरो पीडामा धकेलेको छ ।
बाढीका कारण हालसम्म ५० भन्दा बढी हाम्रा प्रिय नागरिकले ज्यान गुमाइसकेको दुःखद खबर प्राप्त भएको छ । म नेपाल सरकार र व्यक्तिगततर्फबाट ज्यान गुमाउनुहुने ती सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आफ्नो मान्छे, आफ्नो परिवार र सर्वस्व गुमाएर शोकमा डुब्नुभएका ती दाजुभाइ तथा दिदीबहिनीहरूमा गहिरो समवेदना व्यक्त गर्दछु । तपाईंहरूको यो असैह्य पीडामा सिङ्गो नेपाल सरकार र सम्पूर्ण देशबासी साथमा छौँ । बाढीमा परी घाइते हुनुभएका र अस्पतालमा उपचार गराइरहनुभएका सबै नागरिकहरूको छिटोभन्दा छिटो स्वास्थ्यलाभको कामना गर्दछु ।
यो दुःखद खबर पाउनासाथ सरकारले ढिला नगरी आफ्ना सम्पूर्ण शक्ति र संयन्त्रहरूलाई हजारौंको संख्यामा उद्धार कार्यमा परिचालन गरेको छ ।
बाढी गएलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बस्यो । त्यसलगत्तै राष्ट्रिय परिषद्को बैठक र मन्त्रिपरिषद्को बैठकसमेत बसेर उद्धार, खोज र राहत कार्यलाई कसरी तीव्र बनाउने भन्नेबारे महत्वपूर्ण निर्णयहरू गरियो ।
बाढी प्रभावित क्षेत्रमा नागरिकहरूको ज्यान जोगाउन र खोजतलास गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीहरूलाई तत्कालै मैदानमा उतारिएको छ ।
हाम्रा सुरक्षाकर्मीहरूले नेपाली सेनाको हेलिकप्टरमार्फत् हालसम्म २५०ं नागरिकको उद्धार गरिसकेका छन् । उद्धार गरिएकामध्ये घाइतेहरूलाई तत्काल काठमाडौँ ल्याएर उपचार सुरु गरिएको छ ।
अहिलेको यो समय निकै संवेदनशील छ । घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु नै हाम्रो पहिलो प्राथमिकता हो ।
घाइते नागरिकहरूको सहज र निःशुल्क उपचारका लागि काठमाडौँको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० वटा शय्या छुट्याइएको छ । उपत्यकाका अन्य सबै ठूला अस्पतालहरूलाई पनि जुनसुकै बेला घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको छ ।
सरकारले प्रभावित क्षेत्रमै मेडिकल टिम खटाएर घाइतेहरूको उद्धार र प्राथमिक उपचार गरिरहेको छ । काठमाडौंको राष्ट्रय ट्रमा सेन्टर, विभिन्न सुरक्षा निकायहरुबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीहरुको टोली तत्कालै पठाइएको छ । यस्तै, नेपाल स्काउट, विश्व स्वास्थ्य संगठनलगायत निकायबाट पनि चिकित्सक, उद्धारकर्मी र स्वास्थ्य सामग्री बाढीप्रभावित क्षेत्रमा पठाइसकिएको छ ।
आपतकालीन स्वास्थ्य सेवा, औषधी र रगतको अभाव नहोस् भनेर रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयहरू, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब र नेपाल स्काउटजस्ता संघसंस्थाहरूसँग निरन्तर समन्वय भइरहेको छ ।
बाढीग्रस्त क्षेत्रका संघीय सांसदहरूसँग हामीले परामर्श गरी स्थानीय तहमा कहाँ के सहयोग आवश्यक छ, सोही अनुसार सहजीकरण गरिरहेका छौं । घाइतेहरूको थप विवरण संकलन गर्ने काम अझै निरन्तर जारी छ ।
यो बिपदबाट नागरिकलाई बचाउन र उहाँहरूको जनजीवन सामान्य बनाउन सरकार लागिरहनेछ । बाढीमा हराइरहेका नागरिकहरूको खोजतलासलाई अझ तीव्र पारिनेछ । घाइतेहरूको पूर्ण विवरण र बाढीले पुर्याएको क्षतिको विस्तृत विवरण संकलन गरिनेछ । आज रात भर पनि उद्धार कार्य जारी नै रहने छ ।
नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन् । यी सबै क्षेत्रका पीडित परिवारहरूसम्म खानेकुरा, सफा खानेपानी, औषधि र अस्थायी बसोबासको व्यवस्था तुरुन्त पुर्याइने छ ।
बाढीका कारण भत्किएका सडक, पुल, बिजुली र खानेपानीका आयोजनाहरूलाई प्राथमिकताका साथ पुनर्निर्माण गरी जनजीवनलाई पुनः पुरानै अवस्थामा फर्काइनेछ । विस्थापित भएका परिवारहरूलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिनेछ ।
बाढी प्रभावित क्षेत्रका आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
तपाईंहरूले भोग्नुपरेको पीडा र गुमाएको क्षति सानो छैन । तर म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु—यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न । राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ । कृपया धैर्य धारण गर्नुहोला । तपाईंहरूको उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिन्छ ।
यस्तो विपद्को बेला हामी सबै एकढिक्का हुनुपर्छ । म सम्पूर्ण सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक र आमनागरिकहरूलाई सरकारले चलाएको राहत र उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट हात बढाउन र सहयोग गर्न हार्दिक अनुरोध गर्दछु ।
हाम्रा पीडित दाजुभाइ–दिदीबहिनीहरूलाई पुनः सामान्य जीवनमा फर्काऔँ ।
काठमाडौं । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्...
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बिहीबार बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी फर्किएका छन् । बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन गरी फर्किएपछि उनले अवस्था चुनौतीपूर्ण रहेको...
काठमाडौं । कर्णाली प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट ३ जना महिला मन्त्री नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा मिलन खड्का, उद्योग,...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले दलगत पहिचान निषेध गरेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न आह्वान गरेका छन् । आज बिहान सिंहदरवारमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend