Nepal Face
  • सोमबार, २५ साउन २०८३
  • सेनाका पूर्व अधिकृतलाई एकपछि अर्को महत्त्वपूर्ण जिम्मेवारी, पूर्वाधार मन्त्रालयको बिज्ञमा पूर्वउपरथी झा नियुक्त


    सोमबार, साउन २५ २०८३
    655
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । २०८२ भदौ २४ गतेको बिध्वंशमा सिंहदरबार, सर्वोच्च अदालतदेखि देशभरका सरकारी संरचनामा आगलागी हुँदा सेनाले जननिर्वाचित सरकारलाई सहयोग नगरेको आरोप लागेको नेपाली सेना वालेन्द्र शाह नेतृत्वको सरकारमा हावी देखिंदै गएको छ ।

    प्रधानमन्त्री वालेन्द्र शाहले राज्यका राजनीतिक नियुक्तिदेखि मन्त्रालयका विज्ञ सल्लाहकारमा पनि सेनाका भूतपूर्व अधिकृतहरुलाई नियुक्ति दिने क्रम जारी नै राखेका छन् ।  अवकाशप्राप्त सैनिक अधिकारीलाई राजनीतिक नियुक्तिमा मात्र होइन, मन्त्रालयको महत्वपूर्ण पदमा नियुक्ति दिने क्रम सुरु भएको छ ।

    यसैक्रममा नेपाली सेनाको इन्जिनियरिङतर्फका प्राविधिक उपरथीबाट अवकाश पाएका धर्मेन्द्रकुमार झालाई पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको विज्ञ सल्लाहकारमा नियुक्त गरिएको छ । उनलाई बैतनिक विज्ञ सल्लाहकारमा नियुक्ति दिइएको छ । यद्यपि पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता सहसचिव रामहरि पोखरेलले झालाई अबैतनिक सल्लाहकार राखिएको प्रतिक्रिया दिए । पोखरेलले भने–‘बिशिष्ट श्रेणीसरहको नियुक्ति भए पनि अबैतनिक सल्लाहकारको भूमिकामा उहाँलाई राखिएको हो ।’

    वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएलगत्तै मन्त्रालयको संख्या घटाएर प्रशासनिक खर्च नियन्त्रण गर्ने सन्देश दिन खोजिए पनि मन्त्रीहरूका स्वकीय सचिवालय र सल्लाहकार नियुक्तिको दायरा विस्तार गरिएको छ । झन् पूर्वाधार विकास मन्त्रीका लागि त २२ थरी सल्लाहकार राख्ने गरी प्रस्ताव तयार पारिएको छ । पूर्वाधार विकास मन्त्रालयले तयार पारेको प्रस्तावमा मन्त्रीले एआईदेखि स्यानिटरीसम्मका सल्लाहकार राख्न पाउनेछन् । २२ थरीका सल्लाहकारमध्ये सेनाका पूर्व उपरथी(जर्नेल) झालाई राखिसकिएको छ ।

    पूर्वाधार विकास मन्त्री लम्सालले आफ्ना विज्ञ सल्लाहकारहरुमा सन्तोष पाण्डे, काठमाडौं उपत्यका खानेपानी ब्यवस्थापन बोर्डका पूर्वकार्यकारी निर्देशक संजीवबिक्रम राणा र प्रधानलाई नियुक्त गरेका छन् । यीमध्ये पाण्डे बैतनिक हुन् । उनलाई मन्त्रालयका सचिवले प्रतिनिधित्व गर्नुपर्ने युएन ह्वाबीट्याटको कार्यक्रममा अमेरिकामै भाग लिन पठाइएको थियो ।

    यसअघि गएको बैशाख ३० गते नेपाली सेनाको महासेनानी पदबाट २०७६ मा अवकाश पाएका डा. आनन्दसिह भाट अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समिति अध्यक्ष नियुक्ति गरिसकिएको छ । सिफारिस सम्बन्धी सूचना संशोधन गरेर दोस्रो नम्बरमा सिफारिस भएका भाटलाई पहिलो नम्बरमा र पहिलो नम्बरमा सिफारिसमा परेका डा. विकास अधिकारीलाई दोस्रो नम्बरमा झारिएको थियो ।

    नेपाल वायुसेवा निगममा पनि सेनाकै पूर्व उपरथी दीपकप्रसाद बाँस्तोलालाई कार्यकारी अध्यक्ष बनाउन लागिएको थियो । उनलाई अध्यक्ष बनाउनकै लागि गएको बैशाख ३१ गते निगमको संचालक समिति सदस्यमा नियुक्त गरिएको थियो । तर अदालतले नै बास्तोलासहितका सदस्यहरुको छनोट प्रक्रिया नै त्रुटिपूर्ण भएको भन्दै नियुक्ति नै खारेज गरिदिएपछि बिनियमावलीबिपरीत ८० बर्षको उमेर कटिसकेका महेश्वरभक्त श्रेष्ठलाई कार्यकारी अध्यक्ष बनाइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार