Nepal Face
  • शनिबार, १६ साउन २०८३
  • विवादमा तानिंदै स्वास्थ्य मन्त्री : आयुुर्वेद चिकित्सा परिषदको अध्यक्षमा अकुपंचरका डाक्टरलाई नियुक्ति गर्दै


    शनिबार, साउन १६ २०८३
    940
    Shares
    नेपाल फेस
  • ७ मिनेट पाठ
  • काठमाडौं । आयुर्वेद चिकित्सा परिषद(काउन्सिल)मा योग्यता नै नपुगेका ब्यक्तिलाई आयुर्वेद चिकित्सा परिषद ऐनबिपरीत अध्यक्ष बनाउन लागिएकोमा विशेषज्ञ आयुर्वेद चिकित्सक समाजले आपत्ति जनाउँदै छनोट प्रक्रिया तत्काल सच्याउन माग गरेको छ ।

    आयुर्वेद चिकित्सा परिषद ऐन २०४५ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कार्यबिधिमा स्पष्ट रुपमा आयुर्वेद बिषयमा स्नातकोत्तर उत्तीर्ण बिशेषज्ञ चिकित्सकले मात्र अध्यक्ष पदमा आवेदन दिन सक्ने ब्यवस्था बिपरीत अकुपंचर बिषय अध्ययन गरेकी डा.जया सत्याललाई काउन्सिलको अध्यक्ष बनाउनका लागि १ नम्बरमा सर्टलिष्ट गरिएकोमा समाजले तत्काल सच्याउन माग गरेको हो ।

    योग्यता नै नपुगेका ब्यक्तिलाई उक्त पदको अन्तर्वार्ताका लागि समावेश गरिनु कार्यविधिको भावना र मापदण्डविपरीत रहेको समाजले ठहर गरेको छ । कार्यविधिअनुरूप योग्य उम्मेदवारहरुमात्र समावेश हुनेगरी सूची संशोधन गर्न समाजले जोडदार माग गरेको छ ।

    आयुर्वेद चिकित्सा समाजले शुक्रबार नै प्रेस विज्ञप्ति जारी गरी कार्यबिधिमा उल्लेखित योग्यता नै नपुगेका ब्यक्तिको नाम संक्षिप्त सूची(सर्टलिष्ट)मा निकालिएकाले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई आयुर्वेद काउन्सिलको अध्यक्ष पदको छनोट प्रक्रिया रोक्न आग्रह गरेको छ ।

    आयुर्वेद चिकित्सा परिषद ऐन र मन्त्रालयले तयार गरेको कार्यबिधिको बुँदा नम्बर ९ मा स्पष्ट रुपमा सम्बन्धित बिषयमा स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने उल्लेख छ । आयुर्वेद चिकित्सा परिषद ऐनमा अध्यक्ष हुनका लागि आयुर्वेद बिषयमा स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ । तर स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. कृष्णचन्द्र श्रेष्ठ संयोजक र डा. गुणनिधि शर्मा सदस्य रहेको सिफारिस समितिले योग्यता नै नपुगेकी डा. जया सत्याललाई १ नम्बरमा राखेर सोमबार कार्यपत्र प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि बोलाएको छ ।

    योग्यता नै नपुगेको सत्याललाई आयुर्वेद काउन्सिलको अध्यक्ष बनाउन रातारात शुक्रबार नै सर्टलिष्टमा नाम निकाली साउन १८ गते नै अन्तर्वार्ता लिएर नियुक्ति गर्न लागिएकोले रोक्न माग गर्दै बिशेषज्ञ आयुर्वेद समाजले मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

    आयुर्वेद चिकित्सा र परम्परागत चिनियाँ चिकित्सा पद्धति (अकुपञ्चर) दुई फरक–फरक शैक्षिक तथा व्यावसायिक विधा हुन् भन्ने त सबैलाई अवगत हुँदाहुँदै पनि योग्यता र मापदण्डविपरीत प्रक्रिया अगाडि बढाइनु विधिको शासन, पारदर्शिता तथा सुशासनक सिद्धान्तविपरीत रहेको समाजको ठहर छ ।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीहरुको छनौट, सिफारिस र नियुक्ति सम्बन्धी कार्यबिधि, २०८३ मा सम्बन्धित बोर्ड, परिषद वा अस्पतालको ऐन नियम अनुसार योग्यता हुनुपर्ने स्पष्टरुपमा उल्लेख छ । मन्त्रालयले बनाएको कार्यबिधिको दफा ९ मा सम्बन्धित परिषद, बोर्ड, अस्पतालको ऐन तथा नियमावलीमा उल्लेख भएअनुसारको योग्यता नभए अयोग्य हुने उल्लेख छ । तर मन्त्रीस्तरीय निर्णयका आधारमा गठन भएको आयुर्वेद परिषदका पदाधिकारी नियुक्ति सिफारिस समितिले आयुर्वेदमा स्नातकोत्तर योग्यता नै नभएका अकुपंचर अध्ययन गरेकी सत्याललाई छनोट गरी अन्तर्वार्ता तथा प्रस्तुतिकरणका लागि बोलाएको छ ।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग योग्यता नपुगेका चिकित्सकलाई काउन्सिलको अध्यक्षमा सर्टलिष्टमा १ नम्बरमा सिफारिस गरिएको र बिशेषज्ञ आयुर्वेद चिकित्सक समाजले नियुक्ति प्रक्रिया रोक्न ध्यानाकर्षण गराएकोबारेमा प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनका स्वकीय सचिवले उनी सुनसरीमा रहेको बताउँदै मन्त्रालयका प्रवक्ता वा सहप्रवक्तासँग जानकारी लिनू भन्ने जवाफ दिए ।

    आयुर्वेद परिषदका पदाधिकारी नियुक्तिका लागि उम्मेदवार सिफारिस गर्न गठित समितिका संयोजक डा. श्रीकृष्ण श्रेष्ठसँग योग्यता नपुगेका चिकित्सकलाई काउन्सिलको अध्यक्षमा सर्टलिष्टमा १ नम्बरमा सिफारिस गरी अन्तर्वार्ताका लागि बोलाइएकोबारेमा प्रतिक्रियाका लागि प्रयास गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

    आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा ऐनअनुसारको योग्यता नभएका चिकित्सकलाई अध्यक्षमा सर्टलिष्टमा एक नम्बरमा राखी सिफारिस गरिएकोबारेमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले भने–नियम भन्दा बाहिर सिफारिस हुँदैन । ऐन र नियमावलीमा जे ब्यवस्था छ, त्यही कार्यान्वयन हुन्छ । लोकसेवाका प्रतिनिधिसमेत गएको सिफारिस समितिले कानुनभन्दा फरक हुनेगरी सिफारिस गर्ने कुरा हुँदैन । त्यस्तो केही मानवीय त्रुटि भएको रहेछ भने पनि संशोधन हुन्छ । तर कानुन नहेरी, कानुनबिपरीत गर्न मिल्दैन ।’

    तत्काल नियुक्ति प्रक्रिया सच्याउः बिशेषज्ञ आयुर्वेद चिकित्सक समाज

    उपरोक्त विषयमा मिति २०७३ साउन १५ गते स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत विभिन्न परिषद्, अस्पताल तथा बोर्डक पदाधिकारी नियुक्तिका लागि उम्मेदवार सिफारिस गर्न गठित समितिद्वारा प्रकाशित अन्तर्वार्ता सम्बन्धी सूचनामा आयुर्वेद चिकित्सा परिषद नेपालको अध्यक्ष पदका लागि छनोट गरिएका उम्मेदवारहरूको सूचीप्रति विशेषज्ञ आयुर्वेद चिकित्सक समाजको गम्भीर ध्यानाकर्षण भएको छ ।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी छनोट, सिफारिस तथा नियुक्ति सम्बन्धी कार्यविधि तोकिएका योग्यता र मापदण्डको प्रतिकूल हुनेगरी अन्तर्वार्ताका लागि समावेश गरिएका उम्मेदवारमध्ये एक जना आयुर्वेद विषय स्नातकोत्तर नभई अकुपञ्चर (परम्परागत चिनियाँ चिकित्सा पद्धति) विषयमा स्नातकोत्तर योग्यता प्राप्त व्यक्ति रहेको देखिएको छ । यस अवस्थामा उहाँलाई उक्त पदको अन्तर्वार्ताका लागि समावेश गरिनु कार्यविधिको भावना र मापदण्डविपरीत रहेको हाम्रो ठहर छ ।

    यस सम्बन्धमा अध्यक्ष पदका लागि आवेदन दिने उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशित भएकै समयमा विशेषज्ञ आयुर्वेद चिकित्सक समाजले मन्त्रालयका श्रीमान सचिवज्यूलाई लिखित रूपमा ध्यानाकर्षण गराएको थियो । साथै, माननीय मन्त्री निशा मेहताज्यू ध्यानाकर्षणका लागि मन्त्रीज्यूको सचिवालयमा मिति २०८३ साउन १३ गते दर्ता नं. २८ मार्फत समेत औपचारिक रूपमा निवेदन पेश गरिएको थियो । यति हुँदाहुदै पनि कार्यविधिविपरीत उक्त उम्मेदवारको नाम अन्तर्वाताको सूचीमा समावेश गरिनु अत्यन्त दुःखद एवं आपत्तिजनक विषय हो ।

    आयुर्वेद चिकित्सा र परम्परागत चिनियाँ चिकित्सा पद्धति (अकुपञ्चर) दुई फरक(फरक शैक्षिक तथा व्यावसायिक विधा हुन् भन्ने त सबैलाई अवगत हुँदाहुँदै पनि योग्यता र मापदण्डविपरीत प्रक्रिया अगाडि बढाइनु विधिको शासन, पारदर्शिता तथा सुशासनक सिद्धान्तविपरीत रहेको हाम्रो ठहर छ । अतः प्रकाशित अन्तर्वार्ता सम्बन्धी सूचना तत्काल सच्याई कार्यविधिअनुरूप योग्य उम्मेदवारहरुमात्र समावेश हुनेगरी सूची संशोधन गर्न विशेषज्ञ आयुर्वेद चिकित्सक समाज जोडदार माग गर्दछ । विशेषज्ञ आयुर्वेद चिकित्सक समा सधैं विधिसम्मत, पारदर्शी, निष्पक्ष तथा योग्यता(आधारित छनोट प्रक्रियाको पक्षमा दृढतापूर्वक उभिने विश्वास दिलाउन चाहन्छ ।’

    आयुर्वेद चिकित्सा परिषद(काउन्सिल)ले आयुर्वेद चिकित्सक तथा व्यवसायीहरूको नाम दर्ता गर्ने, व्यवसायको अनुमति पत्र (लाइसेन्स) परीक्षा सञ्चालन गर्ने र आयुर्वेद चिकित्साको मापदण्ड निर्धारण गर्ने गर्दछ ।

    डा. जया सत्यालका श्रीमान डा. प्रदीप केसी सिंहदरबार बैद्यखाना विकास समितिका कार्यकारी निर्देशक हुन् । एमाले नेतृत्वको सरकार हुँदा तत्कालीन अर्थमन्त्री बिष्णुप्रसाद पौडेलका निकट केसी र सत्याल पछिल्ला दिनमा रास्वपा निकट भएर नियुृक्ति खान लागेको आरोप छ । ऐनमा स्पष्टरुपमा आयुर्वेदमा स्नातकोत्तर उत्तीर्ण योग्यता उल्लेख भए पनि अकुपंचर बिषय अध्ययन गरेकालाई नियुक्ति गर्ने काम सुशासनको पक्षपाती बताउने सरकारले गर्न लागेकोमा स्वास्थ्य मन्त्रालयभित्रै आश्चर्यका रुपमा लिइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार