काठमाडौं । सुनसरीको देवानगंजमा बोलबम यात्राका क्रममा दुई समुदायबीच झडप भई २ जनाको मृत्यु भएको तीन दिनपछि प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।
देवानगंजको हिंसाको आगो सिरहादेखि सप्तरी र मधेश प्रदेशमा फैलिइसकेको छ । जनकपुर र सिरहामा आगजनी भई करोडौंको सम्पत्ति खरानी भइसकेको छ । सिरहामा बिहीबार गोली लागेर एक ब्यक्तिको मृत्यु भइसकेपछि प्रधानमन्त्री शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद घटनालाई लिएर कुनै सिङ्गो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसङ्गत हुन नसक्ने बताएका छन् ।
अन्तिममा उनले मैथिली भाषामा भनेका छन्–‘हम आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, सब आदरणीय अगुवा, सब राजनीतिक दल आ जिम्मेवार सञ्चारके माध्यम सबके धैर्यता आ संयमता अपना क शान्ति, सद्भाव, भाइचारा आ राष्ट्रिय एकता कायम राख के लेल सरकार के तरफ स हार्दिक अपिल के रहल छी ।’
प्रधानमन्त्री शाहले गरेको सम्बोधनको पूर्ण पाठ
आदरणीय बुबाआमा, दिदीबहिनी तथा दाजुभाइहरू,
म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईंहरूसामु उपस्थित भएको छु ।
१. केही दिनअघि सुनसरीको देवानगन्ज, सिरहा लगायत स्थानमा भएका दुःखद घटना र त्यसपछि केही जिल्लाहरूमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्णरूपमा गम्भीर र संवेदनशील छ । यस दुःखद घटनामा परी निधन हुनुभएका हाम्रा नागरिकहरू जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, शोकसन्तप्त परिवारजनहरूमा नेपाल सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु ।
२. घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकिएको छ ।
३. घटना भएलगत्तै सबै सुरक्षा निकायहरूले तत्काल घटनास्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति–सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका छन् । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ । म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्णरूपमा निष्पक्ष र पारदर्शी हुनेछ । घटनामा संलग्न दोषी जो(कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ ।
४. अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीयस्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ । परिस्थिति सामान्यीकरण गर्न केन्द्रस्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ भने स्थानीय तहसम्मै जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरुहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ ।
५. स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न, पीडित पक्षसँग संवाद गर्न र शान्ति–सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयं, सुरक्षा निकायका उच्च अधिकारीहरूसहित घटनास्थलतर्फ प्रस्थान गरिसक्नुभएको छ । साथै, देशको समग्र शान्तिसुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसी परिस्थिति अनुसारका आवश्यक निर्णयहरूसमेत गरिसकिएको छ ।
६. यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्तिको प्रचारप्रसार नगर्न–नगराउन अनुरोध गर्दछु । साथै, सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गर्न विशेष आग्रह गर्दछु ।
७. प्रत्येक नागरिकको जीउधनको रक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व हो । आगामी दिनमा पनि राज्य थप सतर्क र संवेदनशील रहनेछ । प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्रहरू अहोरात्र खटिनेछन् । शान्तिसुरक्षा भङ्ग गर्ने, अराजकता फैलाउने वा हाम्रो सदियौँ पुरानो सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत छ र यस्ता गतिविधिमाथि कडा कदम चालिनेछ ।
८. नेपालको संविधानले प्रत्येक नागरिकलाई आ–आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको छ । यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्णरूपमा प्रतिबद्ध छ ।
९. धर्म, समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो । संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन । सबै धर्मको मूल सार करुणा, दया, प्रेम र शान्ति नै हो ।
१०. देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद घटनालाई लिएर कुनै सिङ्गो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसङ्गत हुन सक्दैन ।
आदरणीय बुबाआमा, दिदीबहिनी तथा दाजुभाइहरू,
११. हाम्रो इतिहास साक्षी छ— कठिनभन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रा सबैभन्दा ठूला शक्ति बनेका छन् ।
१२. हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनुपर्नेछ ।
१३. हम आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, सब आदरणीय अगुवा, सब राजनीतिक दल आ जिम्मेवार सञ्चारके माध्यम सबके धैर्यता आ संयमता अपना क शान्ति, सद्भाव, भाइचारा आ राष्ट्रिय एकता कायम राख के लेल सरकार के तरफ स हार्दिक अपिल के रहल छी ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend