Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • निर्वाचन प्रहरीको पोशाक खरिदमा करोडौं भ्रष्टाचार, आइजीपी र पूर्व गृहमन्त्री अख्तियारको छानबिनमा


    मंगलबार, जेष्ठ २६ २०८३
    13.2K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति नेपाल प्रहरीले भर्ना गरेका १ लाख ३३ हजार ९ सय ८० निर्वाचन प्रहरीका लागि पोशाक लगायतका बन्दोबस्तीका सामान खरिदमा ब्यापक अनियमितता भएको तथ्य खुलेको छ । निर्वाचन प्रहरीको बन्दोबस्तीका सामान खरिदमा ६० करोडभन्दा बढी भ्रष्टाचार भएको ब्यहोरासहितको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

    निर्वाचन प्रहरीका लागि बन्दोबस्तीका सामान खरिदमा भएको अनियमितताका बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार मात्रै काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका लेखापालहरुसँग बयान लिएको छ । यसअघि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा बन्दोबस्तीका सामान आपूर्तिको ठेक्का पाएका ठेकेदार राजमान मिश्रसँग पनि अख्तियारले बयान लिइसकेको छ । राजमान मिश्रसँग बयान लिइसकेपछि निर्वाचन प्रहरीको पोशाक खरिदमा अनियमितता भएका तथ्य खुलेपछि आर्थिक तथा प्रबन्ध निर्देशनालयका डीआईजी विश्व अधिकारीदेखि तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल र आईजीपी दानबहादुर कार्कीसम्म पनि तानिने भएका छन् ।

    अख्तियारमा दर्ता भएको उजुरीमा म्यादी प्रहरीका निम्ति चुस्ता, जुत्ता, मोजा, बेल्ट, स्वेटर र लाठीको बजार मूल्यभन्दा बढी रकम देखाएर घोटाला भएको उल्लेख गरिएको छ । लगभग ३ हजार ५ सय रुपैयाँ पर्ने ती सामान प्रतिव्यक्ति ६ हजार ५ रुपैयाँसम्म खरिद गरी अनियमितता भएको उल्लेख छ ।

    निर्वाचन प्रहरीका लागि कम्पनी नै तोकेर सामान खरिद गरिएको छ । कम्पनी नै तोकेर गोल्डस्टार जुत्ता खरिद गरिएको छ । जुत्ता खरिदमा मात्र १० करोड रुपैयाँ हिनामिना भएको आरोप छ । निर्वाचन प्रहरीका लागि १ लाख ३३ हजार ९ सय ८० जोर जुत्ता खरिद भएको थियो । सिधैं कम्पनी नै तोकेर खरिद गर्नुले पनि भ्रष्टाचार भएको कुरा पुष्टि गरेको छ ।

    १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरीको खरिदमा ४० प्रतिशत कमिसनको चलखेल गरिएको आरोप छ । एक प्रहरी बराबर १ हजार ५ सय कमिसन रकम छुट्याइएको छ । १ हजार ५ सयमध्ये पचास प्रतिशतले हुन आउने रु. ७५० प्रहरी हेडक्वाटर, ३ परिसरसहित ७४ जिल्ला प्रहरी कार्यालयलाई पैंतीस प्रतिशतले हुन आउने ५ सय २५ रुपैयाँ र १५ प्रतिशतले हुन आउने २ सय २५ रुपैयाँँ प्रतिब्यक्ति ६ वटा प्रदेशका डिआईजी र उपत्यका प्रमुख रहेका एआईजी ईश्वर कार्कीलाई भागबण्डा गरिएको स्रोतको दाबी छ । एक निर्वाचन प्रहरीबराबर १ हजार ५ सय रुपैयाँले गुणा गर्दा १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरीको २० करोड ९७ हजार हुन आउँछ ।

    निर्वाचन प्रहरीको बन्दोबस्तीका सामान खरिदमा कमिसनको डिल पूर्वडीएसपी गणेश चन्दले गरेका थिए । दानबहादुर कार्की आईजीपी भइसकेपछि उनको निवासदेखि बालुवाटारमा रहेको बिर्यानी हाउस एण्ड सेकुवा केभमा गणेश चन्दले प्रहरीका ठेक्कापट्टादेखि सरुवा बढुवाको डिल गर्ने गरेको स्रोत बताउँछ । निर्वाचन प्रहरीका लागि बन्दोबस्तीका सामान खरिद गर्दा तलदेखि प्रहरी मुख्यालयसम्म कमिसनको भागबण्डा गरिएको स्रोत बताउँछ ।

    निर्वाचन प्रहरीको बन्दोबस्तीका सामान खरिदमा पूर्वगृहमन्त्री ओमप्रकाश अर्याल समेत तानिने भएका छन् । स्रोतका अनुसार निर्वाचन प्रहरीका लागि बन्दोबस्तीका सामान खरिद गर्दा अर्थमन्त्रालयबाट बजेट ल्याउने क्रममा तत्कालीन गृहमन्त्री अर्याल र प्रहरी प्रधान कार्यालयको तर्फबाट आर्थिक तथा प्रबन्ध निर्देशनालयका प्रमुख डिआईजी विश्व अधिकारी र अर्यालबीच सम्झौता भएको थियो ।

    अर्थमन्त्रालयबाट बजेट ल्याउन अर्याल र अधिकारीले हस्ताक्षर गरेकाले उनीहरु तानिने भएका हुन् । आईजीपी दानबहादुर कार्कीले प्रबन्ध निर्देशनालयका डीआईजी विश्व अधिकारीलाई अधिकार प्रत्यायोजन गरे पनि उन्मुक्ति पाउन नसक्ने स्रोत बताउँछ । निर्वाचन प्रहरीले नै पोशाकसहितका सबै सेट खरिद गरेको भन्दैआएको छ ।

    निर्वाचन प्रहरीले नै पैसा लिएर खरिद गरेको भनेर पन्छिन खोजे पनि केन्द्रमा तत्कालीन गृहमन्त्री अर्याल र प्रबन्धका डीआईजी अधिकारीबीच भएको सम्झौता र हरेक जिल्लामा प्रहरी प्रमुख, लेखापाल र निर्वाचन सेलको प्रतिनिधि रहेको समिति गठन गरेकाले खरिदमा संलग्नता नरहेको भन्ने आधार नदेखिएकाले अख्तियारले छानबिन गरी मुद्दा नै दायर गर्ने तयारी गरेको स्रोत बताउँछ ।

    स्रोतका अनुसार अख्तियार निर्वाचन प्रहरीको पोशाक खरिदमा ओमप्रकाश अर्याल र आईजीपीसम्मलाई बयान लिने तयारीमा छ ।

    निर्वाचन प्रहरीको पोशाक खरिदमा भएको अनियमितताका बारेमा छानबिन भइरहेको हो भन्ने जिज्ञासामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले भने–‘यसबारेमा आफूलाई जानकारी नभएको, बुझेर मात्र भन्न सकिन्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार