Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • ओलीका विश्वासपात्र थापालाई वालेन्द्रले गरे योजना आयोगमा नियुक्ति


    बिहिबार, चैत्र २६ २०८२
    34.5K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता वालेन्द्र शाहको सरकारले गरेका नियुक्ति एकपछि अर्को विवादमा पर्न थालेका छन् ।

    रास्वपाले निर्वाचनको जनतासमक्ष गरेको बाचापत्रमा २०४६ पछिका सरकारी उच्च ओहदामा बसेकाहरुको अकूत सम्पत्ति छानबिन गर्ने कुरालाई महत्वका साथ उल्लेख गरेको छ । तर बाचापत्रको प्रतिबद्धताबिपरीत एकपछि अर्को विवादित र भ्रष्टहरुलाई नियुक्ति गर्दै जान थालेको छ । एकपछि अर्को अकूत कमाउनेहरुलाई नै महत्वपूर्ण नियुक्ति गर्दै जान थालेपछि वालेन्द्र सरकार पनि ‘नयाँ बोतलमा पुरानै रक्सी’ जस्तै हुने देखिन थालेको छ ।

    विगतमा कांग्रेस–एमालेको सरकारका पालामा अवसर लुटेका र अकूत कमाएकाहरुले नै रास्वपाको सरकारमा पनि धमाधम नियुक्ति पाएको देखिंदैछ । सुदूरपश्चिम घर भएका र कांग्रेस सभापति शेरबहादुर देउवाको आडमा राष्ट्रबैंकमा एकपछि अर्को गर्दै मौका र अवसर पाएका र गभर्नर नै बन्न खोजेका गुणाकर भट्टलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाएको छ । देउवाले उनलाई गभर्नर बनाउन खोजे पनि गठबन्धनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नमानेपछि अन्ततः डा. बिश्व पौडेलले बाजी मारेका थिए ।

    त्यसैगरी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका अति निकट भौतिक पूर्वाधार मन्त्रालयका पूर्वसहसचिव अर्जुनजंग थापालाई पनि सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरेको छ ।

    भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत सडक बिभागमा सधैं आकर्षक आयोजना र डिभिजनमा बसेका र सडक बिभागको २ पटक महानिर्देशक भएका अर्जुनजंग थापा २०४६ पछिका सम्पत्ति छानबिन गर्नेभित्र पर्दछन् । तर तिनै ओलीले २ पटक सडक बिभागको जिम्मेवारी दिएका थापा वालेन्द्रका प्रिय भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई योजना आयोगको सदस्यमा नियुक्त गरेको हो ।

    २०७७ फागुनमा पहिलो पटक सडक बिभागको महानिर्देशक भएका थिए थापा । त्यसपछि २०७८ पुसमा शिव सापकोटालाई महानिर्देशक बनाइयो । तर शिव सापकोटा २०७९ बैशाखमा अवकाश भएपछि २०७९ जेठमा थापा पुनः महानिर्देशक भएका थिए । दुबै पटक उनलाई केपी शर्मा ओलीले नै महानिर्देशक बनाएर पठाएका थिए ।

    त्यसो त प्रधानमन्त्री वालेन्द्र साहले राजनीतिक सल्लाहकारमा राखेका असीम साह पनि राजावादी रहेको खुलिसकेको छ । कलाकार पृष्ठभूमि भएका उनलाई संविधान संशोधनसम्बन्धी कार्यदलको संयोजक समेत बनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार