Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रास्वपाबाट निर्वाचित सांसदहरू एकपछि अर्को कालोसूचीमा


    बिहिबार, फाल्गुन २८ २०८२
    1.4K
    Shares
    सूर्यबहादुर तामाङ, धनेन्द्र कार्की र किशोरी साह
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । फागुन २१ मा भएको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विजयी भएका सांसदहरु कालोसूचीमा परेका तथ्यहरु सार्वजनिक हुन थालेका छन् । रास्वपाले धनुषा १ मा उम्मेदवार बनाएका किशोरी साह कालोसूचीमा परेको उजुरीपछि चुनावअघि नै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।

    निर्वाचन परिणाम घोषणापछि सिन्धुली १ बाट निर्वाचित रास्वपा सांसद धनेन्द्र कार्की कालोसूचीमा परेको समाचार सार्वजनिक भएको छ । कार्कीपछि उदयपुर क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित (रास्वपा) का सांसद सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको तथ्य बाहिरिएको छ ।

    निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार तामाङ १४ हजार ८०२ मत प्राप्त गर्दै सांसदमा विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार अम्बरबहादुर रायमाझीले ७ हजार ६४८ र नेपाली कांग्रेसका उम्मेदवार रामकुमार राईले ७ हजार २९० मत पाएका थिए । निर्वाचन जितिसकेपछि तामाङको कालोसूची प्रकरण बाहिर आएको छ ।

    कर्जा सूचना केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार तामाङ संलग्न कम्पनी मकालु कान्जिरुवा अटो लिंक प्रालि बारम्बार चेक बाउन्स प्रकरणमा मुछिएको छ । सोही कारण कम्पनी र त्यसका सञ्चालकहरूलाई विभिन्न समयमा कालोसूचीमा राखिएको उल्लेख छ । केन्द्रको अभिलेखअनुसार उक्त कम्पनीको नाम कालोसूचीको नम्बर १०१,५१४ मा रहेको छ । जहाँ सञ्चालकका रूपमा लीला राई र सूर्यबहादुर तामाङ दुवैको नाम उल्लेख गरिएको छ ।

    त्यसैगरी, रास्वपाबाटै निर्वाचित सिन्धुली निर्वाचन क्षेत्र नं. १ का सांसद धनेन्द्र कार्की कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पाइएको छ । प्रतिनिधिसभा सदस्य उम्मेदवारी दर्ता गरेपछि उनी कालोसूचीमा परेका हुन् ।

    कर्जा सूचना केन्द्रको कालोसूचीमा उनको नाम ४ ठाउँमा छ । उनी गत माघ १९ गते पहिलोपल्ट कालोसूचीमा परेका थिए । त्यसपछि माघ २९ गते २ पल्ट र फागुन १५ गते पुनः कालोसूचीमा परेको देखिन्छ ।

    आईसीएफसी फाइनान्सको उनको नाममा रहेको खातामा पर्याप्त पैसा नभएका कारण उनी कालोसूचीमा परेका हुन । उनले काटेको चेक बाउन्स भएको थियो । फागुन १५ गते कालोसूचीमा परेको विषय बिजु मल्टिपर्पस सहकारीसँग सम्बन्धित छ । उनी सहकारीको संस्थापक निर्देशक रहेका कारण कालोसूचीमा परेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार