Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • निर्वाचन केन्द्रित घरदैलो कार्यक्रम स्थगन गरेर काठमाडौँ फर्किए ओली


    बिहिबार, माघ २९ २०८२
    445
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एकसाता लामो मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गरेर काठमाडौँ फर्किएका छन् । पार्टीको प्रतिबद्धता पत्र बनाएर सार्वजनिक गर्ने तयारीका लागि ओली राजधानी फर्किएका बताइएको छ ।

    झापा क्षेत्र नं। ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका ओलीले निर्वाचन क्षेत्रमा पर्ने कमल, गौरादह र गौरीगन्ज पालिकाका एक सयभन्दा बढी स्थानहरूमा मतदाताहरूसँग भेटघाट तथा अन्तरक्रिया गरेका थिए । जहाँ प्रत्यक्ष रूपमा २५ देखि ३० हजार मतदातालाई ओलीले भेटेका थिए ।

    ओलीले स्थानीयका गुनासा र मागहरूलाई सुनेर त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै निर्वाचनमा जिताउन आग्रह गरेको निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले बताए । ओलीले गरेको यस क्षेत्रको विकास र मायालाई स्थानीयले खुलेर प्रशंसा गरेको दाहालको दाबी छ ।

    ओलीको प्रत्यक्ष भेटघाट र घरदैलोले पार्टीका नेता कार्यकर्तादेखि लिएर आम मतदाताहरूमा नयाँ प्रकारको उत्साह देखिएको उनको भनाई छ । यो पटक ओलीले आफ्नो निर्वाचन क्षेत्रका बिरामी तथा हिँडडुल गर्न नसक्ने कतिपय मतदाताहरूको घरमा नै पुगेर हौसला समेत दिएको उनले जानकारी दिए ।

    ओलीले अझै यस क्षेत्रमा धेरै योजनाहरू अलपत्र रहेकाले त्यसलाई पुरा गर्नका लागि आफू लाग्ने प्रतिबद्धता जनाएका थिए । औद्योगिक पार्क, रंगशाला लगायतका ठुला योजनाहरूको विषयमा स्थानीय मतदाताहरूले प्रश्न तेर्स्याएका थिए । ओलीले आफूले विगतमा गरेका बाचा र प्रतिबद्धतालाई पूर्णता दिने आश्वासन दिएका छन् ।

    ओली यसैसाता पुनः दमक जाने उनको सचिवालयले जनाएको छ । अहिलेलाई प्रत्यक्ष उम्मेदवार सहितको भेटघाट स्थगन भएको हो । पार्टीको तर्फबाट घरदैलो र भेटघाट कार्यक्रम जारी रहने नेकपा एमालेका केन्द्रीय सदस्य दीपक कार्कीले बताए ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहसँग नै मुख्य प्रतिस्पर्धा हुने देखेपछि ओलीले यस क्षेत्रमा आफ्नो उपस्थितिलाई बाक्लो बनाउँदै आएका छन् । साहको चुनावी अभियान यहाँ आक्रामक रूपमा चल्दै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार