Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बालेनलक्षित ओलीको टिप्पणी : देश जलाउने होइन बनाउनेको तर्फबाट मैदानमा छु


    आइतबार, माघ ११ २०८२
    760
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश जलाउने होइन, बनाउनेको तर्फबाट चुनावी मैदानमा आएको बताएका छन् । उनको टिप्पणी झापा–५ मा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन साहप्रति लक्षित थियो ।

    आइतबार बिहान सामाजिक सञ्जालमा ओलीले बालेनलाई प्रतिस्पर्धी स्वीकार्दै पब्लिक डिबेटका लागि आफू तयार रहेको बताएका हुन् । देशको नेतृत्व गर्न चाहने सबै दलका प्रमुख नेताहरूबीच सार्वजनिक र पारदर्शी बहस गर्न आफू तयार रहेको उनले बताए ।

    आगामी निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक बौद्धिक वृत्तबाट उठिरहेको डिबेटको मागलाई सकारात्मक भन्दै उनले आफ्ना एजेण्डा जनतामाझ खुलारूपमा राख्न एमाले पछि नहट्ने स्पष्ट पारे ।

    अध्यक्ष ओलीले भने, ‘नयाँ र पुराना सबै दल अहिले चुनावमा होमिएका छन् । देश जलाउने र देश बनाउने पक्षबीचको प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा एमाले देश बनाउने तर्फबाट मैदानमा छ ।’

    उनका अनुसार सामाजिक सञ्जालमा फ्रेमिङ गरेर प्रचार सामग्री प्रस्तुत गर्दै मतदातालाई भ्रममा पार्ने प्रवृत्ति बढेकाले पनि पब्लिक डिबेटको माग आएको हुनसक्छ ।

    ‘यस्ता सामग्री देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रयास भइरहेको छ । त्यसैले पारदर्शी बहस आवश्यक भएको हो,’ ओलीले भने ।

    यसपटकको निर्वाचनमा ऐतिहासिक भूमिका खेलेका दलदेखि भर्खरै खुलेका नयाँ दलसम्मले प्रधानमन्त्रीको उम्मेदवार तोकेर मैदानमा आएको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ओलीले देशको नेतृत्व गर्न खोज्ने दलहरूको एजेण्डा, विगतको काम र भावी रोडम्यापबारे जनताले स्पष्ट उत्तर पाउनुपर्ने बताए ।

    ‘देश निर्माणमा यसअघि के काम ग‍र्यौं, अब के गर्ने योजना र खाका छ—यी सबै प्रश्नमा आमनेसामने बहसको माग अत्यन्त सकारात्मक हो,’ उनले भने ।

    अध्यक्ष ओलीले आफू पब्लिक डिबेटको मञ्चमा उभिएर विगतका उपलब्धि र आगामी एजेण्डा तथ्यका आधारमा प्रस्तुत गर्न तयार रहेको प्रतिबद्धता जनाए । ‘चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्न म तयार छु’ उनले स्पष्ट पारे ।

    उनले यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई सहभागी गराउन आयोजकहरूलाई आग्रहसमेत गरेका छन् । ‘जनताको सूचित निर्णयका लागि यस्तो बहस आवश्यक छ । एमाले यसमा अग्रसर भूमिका खेल्न तयार छ,’ ओलीले भने ।

    प्रमुख तीन पार्टीले प्रधानमन्त्रीका रुपमा अगाडि सारेका उम्मेदवार एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति गगन थापा र रास्वपा बरिष्ठ नेता बालेन साहबीच लाइभ डेबिट हुनुपर्ने माग छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार