Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजमार्गमा जबर्जस्ती कर असुली : डीआईजी पौडेलले गृहमन्त्रालयको निर्देशन पालना किन गराउँदैनन् ?


    सोमबार, पुष ७ २०८२
    2.8K
    Shares
    नेपाल फेस
  • ७ मिनेट पाठ
  • काठमाडौँ । धादिङको धुनिबेसी नगरपालिकामा आर एण्ड आर भालेश्वर ट्रेड कन्सर्नको नाममा कवाडीको ठेक्का लिएका भारतीय नागरिक रोशन चौधरीेले काठमाडौं उपत्यकाका सबै स्थानीय तहको कवाडीको निकासी कर गैरकानुनी रुपमा असुलिरहँदा पनि प्रहरीले देखेको नदेख्यै गर्दैआएको छ ।

    चौधरीले धुनिबेसीको ठेक्का लिएर काठमाडौं, ललितपुर, भक्तपुरमात्र होइन, काभ्रेको बनेपाको समेत करअसुली गर्दैआएका छन् । काठमाडौं उपत्यकाका नगरपालिकाहरुले कवाडी कर संकलनका लागि गरेको टेण्डरमा अत्यधिक बढी रकम कबोल गर्ने र ठेक्का सम्झौता भइसकेपछि स्रोत के हो भनेर अदालतमा मुद्दा दायर गर्ने र अबैध रुपमा कवाडीको निकासी कर आतंक नै मच्चाइएको छ ।

    गृहमन्त्रालयले राजमार्गमा गैरकानुनी रुपमा निकासी कर संकलन रोक्न मातहतका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिए पनि त्यो कार्यान्वयन हुनसकेको छैन ।

    भालेश्वर ट्रेड कन्सर्नले धुनिबेसी नगरपालिकाको कवाडी ठेक्का लिएर काठमाडौं उपत्यकाबाट निस्कने कवाडीका गाडीबाट दैनिक ३० लाख रुपैयाँ निकासी कर गैरकानुनी रुपमा असुलिरहेका छन् । मासिक ९ करोडका दरले बार्षिक १ अर्ब भन्दा बढी गैरकानुनी कर असुल्ने छुट प्रहरी प्रशासनले दिएको छ ।

    धुनिबेसी नगरपालिकासँग भएको सर्तबिपरीत निकासी कर संकलन नगर्न लेखेको पत्र

    यसरी गैरकानुनी रुपमा असुली गरेको निकासी करबाट उनले राज्यका सबै संयन्त्रमा सेटिङ गरी काठमाडौं उपत्यकाका सबै पालिकाको निकासी कर धादिङको धुनिबेसीमा बसी जबर्जस्ती रुपमा असुली गरिरहेका छन् ।

    अर्थमन्त्रालयले पटक पटक एउटा पालिकामा उत्पत्ति भएको सामानको कर अर्को पालिकामा असुली गर्ने कार्य रोक्न निर्देशन दिएको छ । गृहमन्त्रालयले पनि राजमार्गमा हुने गरेको जबर्जस्ती कर असुली रोक्न प्रहरी प्रशासनलाई निर्देशन दिएको छ । तर रोशन चौधरीले राजमार्गमा जर्बजस्ती निकासी कर असुली गर्दा पनि प्रहरीले उनीहरुलाई पक्राउ गर्ने र मुद्दा चलाउने गरेको छैन । जबर्जस्ती करअसुली गर्नेहरुलाई उल्टै संरक्षण गर्दैआएको छ ।

    धुनिबेसीको कवाडीको ठेक्का लिएका रोशन चौधरीले १ सयभन्दा बढी केटाहरुलाई ललितपुरदेखि काठमाडौंका धर्मकाँटा भएको स्थानदेखि धादिङका राजमार्गमा तैनाथ गरी कवाडी बोकेका गाडी रोक्ने, गैरकानुनी कर असुली गर्दैआएका छन् । धर्मकाँटा रहेको ललितपुरको सानेपामै चौधरीले गैरकानुनी रुपमा कर संकलन गर्ने गरेका छन् । इभी गाडीको बोर्ड राखिएको टहराबाट उनले कवाडी र राँगाको सिङ र हड्डीको गैरकानुनी रुपमा निकासी कर असुली गर्दा पनि ललितपुर प्रहरीले देखेको नदेख्यै गरिरहेको छ ।

    रोशन चौधरीका मानिसहरुले गाडी रोकेर यसरी जबर्जस्ती निकासी कर असुल्छन्

    काठमाडौं र ललितपुरका धर्मकाँटा भएको स्थानमै चौधरीको आर एण्ड आर भालचन्द्रलाई निकासी कर बुझाउन दबाब दिने, नबुझाए राजमार्गमा कवाडी बोकेका गाडीका चालकलाई दुब्र्यवहार गर्नेदेखि कुटपिट गरी कर असुली गर्दा समेत धादिङ प्रहरी मूकदर्शक बनिरहेको छ ।

    भारतीय नागरिक रोशन चौधरीले धुनिबेसी नगरपालिकाको मात्र कवाडीको ठेक्का लिएर काठमाडौं उपत्यकाका तीनै जिल्लाका स्थानीय तहदेखि बनेपासम्मको कवाडीको निकासी कर असुली गैरकानुनी रुपमा गरिरहेका छन् ।

    धर्मकाँटा रहेको सानेपामै कवाडी बोकेको गाडीसँग निकासी कर तिर्न दबाब दिने, नदिए त्यो गाडीको फोटो खिचेर पठाउने र धादिङ जिल्ला पुगेपछि गाडी रोकेर जबर्जस्ती कर असुली हुँदैआएको छ । जसलाई जिल्ला प्रहरी कार्यालय धादिङले देखेको नदेख्यै गर्दैआएको छ ।

    धादिङ जिल्ला प्रहरी कार्यालयका इन्चार्जलाई नै मासिक २० लाख रुपैयाँ सेटिङको हिस्सा पुग्ने गरेको स्रोत बताउँछ । यसरी प्रहरीलाई घुस दिएर रोशन चौधरीले राजमार्गमा गैरकानुनी कर असुल्ने छुट पाएको स्रोतको दाबी छ ।

    जिल्ला प्रशासन कार्यालय धादिङमा नयाँ प्रहरी प्रमुख आउनासाथ रोशनले सेटिङ मिलाउने र राजमार्गमा कवाडी बोकेका गाडी जबर्जस्ती रोकेर गैरकानुनी निकासी कर लिने गरेको आरोप छ । धादिङमा केही दिनअघि मात्र नयाँ एसपीका रुपमा सुमित खड्का हाजिर भएका छन् ।  धादिङका राजमार्गमा भइरहेको यस्तो जबर्जस्ती असुलीका बारेमा बागमती प्रदेशका डीआईजी अरुण पौडेलले समेत रोक्न पहल नगरेको गुनासो छ ।

    गृहमन्त्रालयले राजमार्गमा जबर्जस्ती कर असुली नगर्न दिएको निर्देशन । जुन कार्यान्वयन प्रहरीबाट हुन सकेको छैन

    डीआईजी पौडेलले राम्रै काम गर्न खोजेका छन् प्रदेशमा । तर भारतीय नागरिक रोशन चौधरीले गरेको यस्तो गैरकानुनी असुली रोक्न उनको ध्यान पुग्न सकेको देखिंदैन । राजमार्गमा भइरहेको गैरकानुनी कर असुलीलाई गृहमन्त्रालयले रोक्न प्रहरी प्रशासनलाई निर्देशन दिएको एक बर्षअघि नै हो ।

    गृह मन्त्रालयले गएको २०८१ कात्तिक १२ मै राष्ट्रिय राजमार्ग र सहायक राजमार्गहरुमा स्थानीय सरकारहरुले विभिन्न किसिमका करहरु असुली गरिरहेकाले उक्त कार्य रोक्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो । तर एक बर्षसम्म पनि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले राष्ट्रिय राजमार्ग र सहायक राजमार्गहरुमा रोशन चौधरीले गर्दैआएको दैनिक ३० लाख गैरकानुनी असुली रोक्न सकेका छैनन् ।

    अर्थमन्त्रालयको निर्देशन अनुसार गृहमन्त्रालयले राजमार्गहरुमा त्यस्ता कर असुली रोक्न दिएको निर्देशन समेत प्रहरी प्रशासनले अटेर गर्दैआएको छ । एआईजीको बढुवामा रहेका डीआईजी पौडेलले रोक्न सकेका छैनन् ।

    ललितपुरमा गैरकानुनी कर असुली

    ललितपुर महानगरपालिकामा त कार्यालय राखेरै गैरकानुनी रुपमा कवाडीको कर उठाउँदैआएका छन् । ललितपुर महानगरमा चौधरीले लिएको कवाडी करको ठेक्का २०८१ असार मसान्तमै सकिएको छ । तर उनले २०८२ साउन १ गतेदेखि गैरकानुनी रुपमा ललितपुर महानगरपालिकाको सानेपामा कार्यालय राखी दैनिक लाखौं कर उठाउँदैआएका छन् । ललितपुर महानगरपालिकाले गएको साउन १ गतेदेखि रोशन चौधरीकै कारण ठेक्का लगाउन सकेको छैन । गएको बर्ष लिएको ठेक्काको पनि ६ करोड राजस्व महानगरलाई चौधरीले बुझाएका छैनन् ।

    धुनिबेसी नगरपालिकाको निर्देशन पनि भालचन्द्रले टेरेन

    काठमाडौंबाट गएका कवाडीका गाडी जवर्जस्ती रोकेर कर असुली नगर्नका लागि धुनिबेसी नगरपालिकाले समेत आर एण्ड आर भालेश्वर ट्रेड कन्सर्न प्रा.लि.लाई निर्देशन दिएको छ । २०८२ असोज ६ गते धुनिबेसी नगरपालिका क्षेत्रभित्रबाट मात्र निकासी हुने जडिबुटी, कवाडी, जीवजन्तु कर संकलनका लागि सम्झौता भए बमोजिम सम्झौताका शर्त अनुसार कर संकलन गर्नुपर्नेमा शर्त विपरीत कार्यक्षेत्र भन्दा बाहिर गई कर संकलन गरेकाले त्यसो नगर्न नगराउन निर्देशन दिएको छ ।

    कवाडी संघबाट समेत गुनासो आएकाले धुनिबेसी नगरपालिकासँग भएको सम्झौता बिपरीत कर संकलन नगर्न निर्देशन दिएको हो । धुनिबेसी नगरपालिकाको निर्देशनपछि पनि सर्तबिपरीत काठमााडौंबाट गएका कवाडीका गाडीसँग निकासी कर असुली भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार