Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • यी नेताले ओली समूह छाडे, पोखरेल समूहबाट पदाधिकारीमा दिए उम्मेदवारी ?


    सोमबार, मंसिर २९ २०८२
    940
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेकपा(एमाले)को जारी ११ औं महाधिवेशनको उम्मेदवारी दर्ता भइसकेको छ । अध्यक्ष केपी शर्मा ओली समूहले सोमबार दिनभर उम्मेदवारहरुको सूची मिलाउन खोजे पनि भागबण्डा पुर्याउन नसकेपछि कतिपय नेता संस्थापनइतर समूहतिर गएर उम्मेदवारी दिएका छन् । कतिपय ओली समूहका नेताले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

    ३ महिनाअघि ललितपुरको गोदावरीमा भएको बिधान महाधिवेशनमा पदाधिकारीदेखि केन्द्रीय कमिटीको संख्या घटाएका ओलीले आफ्नो समूहमा भागबण्डा पुर्याउन नसकेपछि फेरि बढाएका छन् । पदसंख्या बढाउँदा पनि ओलीले टीम मिलाउन नसकेपछि प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी नै दिन अस्वीकार गरेका छन् ।

    महासचिवका आकांक्षी रहेका प्रदीप ज्ञवालीले उपाध्यक्ष पद अस्वीकार गर्दै केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका छन् । शंकर पोखरेललाई दोहेर्याएर महासचिवमा उम्मेदवार बनाएपछि ज्ञवाली रुष्ट भएका हुन् । एउटै पदमा दोहोरिनु नहुने मान्यतामा अडिग रहँदै ज्ञवालीले उपाध्यक्ष पद अस्वीकार गरेका छन् ।

    प्रदीप ज्ञवालीले पोखरेललाई महासचिवको उम्मेदवार बनाएपछि बिद्रोह गरेका छन् भने ओलीका सदाबहार सहयोगी रहेका कृष्णगोपाल श्रेष्ठ इश्वर पोखरेलको समूहबाट सचिवका उम्मेदवार भएका छन् । ओलीको समूहका आनन्द पोखरेल र बैजनाथ चौधरीले उपमहासचिवमा उम्मेदवारी दिएका छन् । जेनजी आन्दोलन अघि ओली सरकारमा शिक्षामन्त्री रहेका रघुजी पन्तलाई नसमेटेपछि उनी पनि पोखरेल समूहबाट उपाध्यक्षका उम्मेदवार भएका छन् ।

    ओलीलाई सुरुदेखि साथ दिंदैआएका गोकुल बाँस्कोटाले पोखरेल समूहबाट सचिवमा उम्मेदवारी दिएका छन् । ओलीकै निकट रहेका र लालबाबु पण्डितले सचिवमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

    ओली प्रधानमन्त्री हुँदा महान्यायाधीवक्तादेखि कानुन मन्त्रीसम्म भएका अग्नि खरेलले पनि स्वतन्त्र रुपमा सचिवमा उम्मेदवारी दिएका छन् । उनले पार्टीमा समूहबन्दी हुँदा राम्रो नहुने बताउँदै स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।

    राजेन्द्र गौतमलाई सचिवमा उम्मेदवार बनाएर पछि काटेपछि उनले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । ओली समूहभित्र एकपछि अर्को नेता कसैले पोखरेल समूहबाट त कसैले स्वतन्त्र उम्मेदवारी दिएपछि उक्त समूहमा तीव्र मतभेद उत्पन्न भएको छ ।

    त्यसो त जेनजी पुस्ताको प्रतिनिधित्व गर्ने सुहाङ नृेम्वाङले पनि ओली समूहमा पर्न नसकेपछि स्वतन्त्र रुपमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

    लामो समयदेखि प्रेस चौतारीको नेतृत्व गर्दै ओलीको समूहलाई सहयोग गरेका राजेन्द्र अर्याल र गणेश बस्नेत पनि ओलीको टीममा अटाउन सकेनन् । उनीहरु दुबैले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार