Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • समानुपातिक उम्मेदवारका लागि रास्वपाको आवेदन आह्वान, २७ प्रतिशत कोटा युवालाई !


    आइतबार, कार्तिक २३ २०८२
    845
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । जेनजी आन्दोलनको प्रभाव पार्टीहरुमा पनि देखिन थालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फका उम्मेदवारका लागि युवाहरुका लागि २७ प्रतिशत कोटा छुट्याएको छ । जुन जेनजी आन्दोलनकै प्रभाव मानिएको छ ।

    रास्वपाले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फ आवेदन आह्वान गरेको छ । शनिबारदेखि इच्छुक व्यक्तिहरूबाट आवेदन माग गरिएको हो ।

    पार्टीका प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘जेन–जीको स्पिरिटको प्रतिनिधित्वलाई समानुपातिक बन्दसूचीमा समेट्दै २५ देखि ४० वर्ष उमेर समूहका युवाका लागि जनसंख्या अनुपातअनुसार २७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।’

    त्यस्तै, प्रवासमा रहेका र उम्मेदवार बन्न स्वदेश फर्किने नेपालीका लागि १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको उल्लेख गरिएको छ ।

    चितवनको सौराहामा यही कात्तिक २१ र २२ गते बसेको रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठकले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘राज्यका निकायमा जेन–जी आन्दोलनको भावना र म्यान्डेटअनुसार उनीहरूको सहभागिता सुनिश्चित गर्न माग गर्दछौं ।’

    बैठकमा केन्द्रीय सदस्य डा. तोसिमा कार्की, संगठन विभागका सचिव शंकर श्रेष्ठ तथा चितवन, झापा र रुपन्देहीका जिल्ला समितिहरूले सुझाव पेस गरेका थिए ।
    रास्वपाले पार्टीका सभापति रवि लामिछानेमाथि दायर मुद्दालाई राजनीतिक प्रतिशोधको परिणाम बताउँदै न्यायालयलाई निष्पक्ष र द्रुत निर्णय गर्न आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार