काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संविधान दिवसको शुभकामना दिंदै यो संविधान निर्माण गर्दा धेरै चुनौती भोगेकाले संविधान जोगाउन र सार्वभौमसत्ताको रक्षा गर्न आह्वान गरेका छन् ।
संविधान बनाउन कति चुनौती पार गर्नुपरेको थियो भन्ने सबैको सम्झनामा ताजै रहेको उल्लेख गर्दै ओलीले नाकाबन्दी र देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई समेत परास्त गर्दै संविधान जारी गरेको स्मरण गरेका छन् । नेपालको संविधान नेपाली जनताले आफैंले आफ्ना निम्ति लेखेको भविष्य रेखा भएकाले यसलाई जोगाउन उनले आह्वान गरेका छन् ।
संविधान दिवसका दिन संविधान जोगाउन अपिल गर्दै अध्यक्ष ओलीले सामाजिक संजाल फेसबुकमा लेखेका छन्–दिदीबहिनी तथा दाजुभाइहरू !
आज संविधान दिवस । नेपाली जनताले ७० वर्षसम्म संघर्ष गरेर आफैंले निर्वाचित गरेको संविधानसभाले बनाएको संविधान जारी गरेको दिन । लोकतान्त्रिक गणतन्त्र, सङ्घीय समावेशी व्यवस्था र जनताका अधिकार स्थापित भएको दिन ।
यो संविधान निर्माण गर्दा हामीले भोगेका चुनौती तपाईँहरूको सम्झनामा ताजै छ । नाकाबन्दी र देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई समेत परास्त गर्दै संविधान जारी भएको थियो । तसर्थ नेपालको संविधान नेपाली जनताले आफैले आफ्ना निम्ति लेखेको भविष्य रेखा हो ।
संविधान जारी भएपछि नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्नेगरी भूपरिवेष्ठित देशलाई भूजडित बनाउन उत्तर दक्षिण जोड्ने यातायात संरचनाहरु बनाइरहेका थियौं । उत्तरी छिमेकी देशसँग पनि यातायात पारवहन सम्झौता गरेका थियौं। हाम्रो सार्वभौमसत्ताको सामथ्र्य विस्तार गरेका थियौं । हाम्रा विकास संरचनाहरूका जग बसालेका थियौं । अर्थतन्त्र तंग्रदै थियो ।
गत साता जेन–जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो–आह्वान कर्ताले भनेझैं । त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो । सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन । प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्दछ । त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रध्दाञ्जली एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु ।
हामी यतिबेला हाम्रो संविधानमाथि ठूलो आक्रमण भएको अवस्थामा छौँ । प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ– नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ । जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको छ ।
यसका पछाडिको षड्यन्त्रबारे आज म धेरै कुरा भन्दिनँ, धेरै कुरा समयले आफैं बयान दिनेछ । हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो, वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो ? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैं महसुस गर्नेछ । विदेश जानेरआउने एयरपोर्टको भीडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला, यो पनि समयले महसुस गराउनेछ । हाम्रो नयाँ पुस्ताले आफैं बुझ्नेछ ।
तर, यो कुरा समय छँदै बुझ्नुपर्ने छ, नबुझेमा हाम्रो देशको सार्वभौमसत्ता इतिहासमा मात्र रहनेछ ।
हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नुभएको छ । देशको सीमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउनेमात्र विकल्प बाँकी रह्यो । यथार्थ भन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरु पछुताउनमात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको झन् झन् गाढा सम्झना गराउनेछ ।
हामी सबै पुस्ताका नेपाली एकजुट हुनुपर्दछ– सार्वभौमसत्तामाथि गरिएको प्रहार सामना गर्न र हाम्रो संविधानको रक्षा गर्न । सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो । हाम्रो एकताले नै देशसामु उत्पन्न यो अकल्पनीय सङ्कटबाट फेरि देशलाई उठाउन र जोगाउन सक्छ ।
मेरो सबैमा अपील छ– संविधान जोगाऔं, सार्वभौमसत्ताको रक्षा गरौं ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend