Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुई दिने भ्रमणमा आएका भारतीय विदेश सचिवको भेटवार्ता एकै दिनमा सकियो


    आइतबार, भाद्र १ २०८२
    665
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्री आइतबार बिहान दुई दिने नेपाल भ्रमणमा आएका थिए । दुई दिनका लागि आएका उनले भ्रमणको पहिलो दिन नै उच्चस्तरीय भेटवार्ता सम्पन्न गरेका छन् ।

    उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएर सोझै भेटवार्ता सुरु गरेका थिए । सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका उनले राष्ट्रपति र विभिन्न दलका शीर्षनेताहरुसँग आजै भेटवार्ता गरिसकेका छन् ।

    प्रधानमन्त्रीसँग सिंहदरबारमा भेट गरेलगत्तै राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका मिस्री त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न देउवा निवास बुढानीलकण्ठ पुगे ।
    पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवालाई भेटेर मिस्री प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

    विदेश सचिव मिस्रीले आजै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग भेटघाट गरेका छन् । त्यसपछि परराष्ट्र सचिव अमृतबहादुर राईसँग दुई पक्षीय भेटवार्ता हुने र आइतबार नै मिस्रीको सम्मानमा सचिव राईले रात्रिभोज दिने बताइएको छ ।

    भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र प्रधानमन्त्री केपी ओलीलाई हस्तान्तरण गरेका छन् । सिंहदरबारमा भएको शिष्टाचार भेटपछि मिस्रीले प्रधानमन्त्री ओलीलाई निम्तो हस्तान्तरण गरेको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

    प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने लगभग निश्चित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमण सकेर मिस्री सोमबार फर्कने कार्यक्रम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार