Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • स्वास्थ्य बिभागका ठेक्कामा पण्डितकै कब्जा, फाष्टट्रयाकमा भुक्तानी गराउन सचिवकै दबाब


    शनिबार, असार २१ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य सेवा विभागभित्र ठेक्काको नाममा आर्थिक अनियमितता हुँदैआएको छ ।

    स्वास्थ्य सेवा बिभागभित्रका ठेक्कामा मिलेमतो, सेटिङ र दलालहरूको ‘होलसेल ठेक्का कारोबार’ हुने गरेको छ । विचौलिया विशाल पण्डितजस्ता पात्रको चलखेलले सम्पूर्ण ठेक्का प्रक्रिया नियन्त्रणमा लिएको छ ।

    स्वास्थ्य सेवा बिभागभित्रका ठेक्कामा बिशाल पण्डितकै बोलावाला चल्ने गरेको छ । विवादास्पद र विशेष अदालतमा करोडौं अनियमितता गरेको मुद्दामाथि मुद्दा परेका बिशाल पण्डितले स्वास्थ्यका ठेक्का कब्जा गर्न सचिव नै आफू अनुकूल ल्याउन सफल भएका छन् ।

    पण्डितले नै शक्तिकेन्द्रमा चलखेल गरी डा. विकास देवकोटालाई सचिवमा बढुवा गरेको आरोप लाग्यो । ठूलै आर्थिक लगानी गरी पण्डितले डा. देवकोटालाई बढुवा गराउन सफल भएको स्रोत बताउँछ ।

    देवकोटा सचिवमा बढुवा भएपछि उनले पण्डितको गुन तिर्न स्वास्थ्य सेवा बिभागमातहतका पुराना बर्षौंदेखि रोकिएका भुक्तानी धमाधम दिइएको छ । पण्डितबाहेक अरु ब्यापारीहरुको भुक्तानी हुनसकेको छैन ।

    २०७४–०७५ तिरको एउटा मर्मतसम्बन्धी ठेक्कामा त झन् निर्माण कार्य नै नसकिँदै ठेकेदारको धरौटी रकम फिर्ता गरिएकोे छ ,त्यो पनि अस्वाभाविक ढंगले । पण्डितको लाइफलाइन ट्रेड इन्टरप्राइजेजलाई ५२ लाख १३ हजार, हस्पिटेक इन्टरप्राइजेजलाई ५१ लाख ८५ हजार भुक्तानी दिइयो, तर मेडिलक्स सिस्टमजस्तो उस्तै प्रकृतिको कम्पनीलाई भने ४६ लाखको भुक्तानी रोकिएको छ । एउटै प्रकृतिको काम, एउटै प्रक्रिया, तर एउटालाई दिइने र अर्कोलाई रोकिने ? स्पष्ट छ, यहाँ मापदण्ड होइन, मिलेमतो भइरहेको छ ।

    पण्डितको भुक्तानी प्रक्रिया जबर्जस्ती अघि बढाउन बिभागका लेखा उपसचिव भीम देवकोटा सक्रिय भएका छन् । सचिव देवकोटाको निर्देशनमा स्वास्थ्य विभागका महानिर्देशक टंकप्रसाद बाराकोटीले पण्डितको भुक्तानी एकपछि अर्को दिने तर अरुलाई नदिने कार्य भएको गुनासो छ ।

    बिभागका विभिन्न कोड नम्बर भएका ठेक्काहरूमा समेत बार्गेनिङका कारण प्रक्रिया अलपत्र परिरहेका छन् । प्राविधिक प्रस्ताव पास भएका दुई कम्पनी योग्य हुँदाहुँदै पनि ठेक्का नै अगाडि बढाइएको छैन । सेटिङ नमिलेपछि ठेक्का सम्झौता नै अवरुद्ध भएको छ ।

    गेटा अस्पतालदेखि गजेन्द्रनारायणसम्मको बिशाल पण्डितको मात्र उपकरण ठेक्का स्वीकृति भइरहेको छ सचिव देवकोटाको दबाबमा । मन्त्री प्रदीप पौडेल छन्, तर ठेकेदार पण्डितले सचिवमार्फत् मन्त्रालयमा कब्जा जमाएका छन् ।

    गेटा अस्पताल र गजेन्द्रनाराण सिंह अस्पताललाई बिशाल पण्डितका लाइफलाइन र हस्पिटेकसहितका कम्पनीका उपकरण खरिद गर्नका लागि स्वास्थ्य सचिव देवकोटाले नै दबाब दिएको स्रोत बताउँछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार