Nepal Face
  • आइतबार, २१ भाद्र २०८३
  • मन्त्री मेहताको सक्रियताले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सुरक्षा अभियान तीव्र


    आइतबार, भाद्र २१ २०८३
    605
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । बाढी तथा पहिरोका कारण हैजाको जोखिम बढ्नसक्ने अवस्थालाई मध्यनजर गर्दै जनताको स्वास्थ्यप्रति सचेत तथा संवेदनशील स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा बाढी प्रभावित जिल्ला रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ ।

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सहयोगमा प्राप्त उक्त खोप स्वास्थ्य सेवा विभागले आज बिहान हेलिकप्टरमार्फत् रसुवा पठाएको हो । बाढी तथा पहिरोका कारण सडक यातायात प्रभावित रहेको अवस्थामा जोखिमयुक्त क्षेत्रमा खोप तत्काल पुर्‍याउने उद्देश्यले हेलिकप्टरमार्फत् खोप पठाइएको विभागले जनाएको छ ।

    बाढीपछि खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुग्नुका साथै सुरक्षित खानेपानी र सरसफाइमा समस्या आउन सक्ने भएकाले हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ्नसक्ने अवस्थालाई ध्यानमा राख्दै मन्त्री मेहताले खोप तथा आवश्यक स्वास्थ्य सामग्री तत्काल प्रभावित क्षेत्रमा पुर्‍याउन निर्देशन दिएकी थिइन् ।

    रसुवा पठाइएको खोप

    मन्त्रीको निर्देशनपछि स्वास्थ्य सेवा विभागले आवश्यक समन्वय गरी विश्व स्वास्थ्य संगठनको सहयोगमा प्राप्त खोपमध्ये २१ हजार डोज रसुवामा तत्काल पठाएको हो ।
    रसुवासँगै बाढीबाट प्रभावित अन्य जिल्लामा पनि आवश्यकताअनुसार हैजाविरुद्धको खोप पठाउने तयारी गरिएको छ । ती जिल्लामा आवश्यक खोप तथा स्वास्थ्य सामग्री गाडीमार्फत् सम्बन्धित क्षेत्रमा पठाइने विभागले जनाएको छ ।

    खोप सम्बन्धित जिल्लामा पुगेपछि स्थानीय स्वास्थ्य निकायसँग समन्वय गरी जोखिममा रहेका समुदायलाई लक्षित गरेर खोप अभियान तत्काल सञ्चालन गरिनेछ । साथै हैजा तथा अन्य पानीजन्य रोगको निगरानी, शीघ्र पहिचान तथा उपचार, सुरक्षित खानेपानी र सरसफाइसम्बन्धी गतिविधिलाई समेत प्राथमिकताका साथ अघि बढाइनेछ ।

    नेपाली सेनाको हेलिकप्टरमार्फत् खोप रसुवा पठाउँदै

    बाढी तथा पहिरोपछि खानेपानीका स्रोत प्रदूषित हुन सक्ने, सरसफाइको अवस्था कमजोर हुने र सुरक्षित खानेपानीको अभाव हुनसक्ने भएकाले हैजा, झाडापखाला लगायतका पानीजन्य रोग फैलिन सक्ने जोखिम रहन्छ । यस्तो जोखिमलाई समयमै पहिचान गरी रोग लागेपछि उपचार गर्नेभन्दा रोगको सम्भावित प्रकोप नै रोक्ने उद्देश्यले पूर्वतयारी र रोकथामका उपायलाई प्राथमिकता दिइएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

    जनताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै मन्त्री मेहताले बाढी प्रभावित क्षेत्रमा औषधि, खोप, स्वास्थ्य सामग्री तथा आवश्यक जनस्वास्थ्य सेवाको तत्काल व्यवस्थापन गर्न सम्बन्धित निकायलाई सक्रिय बनाएकी छन् ।

    स्वास्थ्य सेवा विभागले संघ, प्रदेश र स्थानीय तहबीच आवश्यक समन्वय गरी प्रभावित क्षेत्रमा हैजाको सम्भावित प्रकोप रोक्न खोप, रोग निगरानी, सुरक्षित खानेपानी, सरसफाइ तथा उपचार व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाउने जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार