Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • कुलमान हुँदा पनि बिजुली झ्याप्प-झ्याप्प गइरहेको थियो: प्राधिकरण


    आइतबार, जेष्ठ ४ २०८२
    870
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सञ्जाल योजनाबद्ध विकास नगर्दा झ्याप-झ्याप बिजुली जाने समस्या भएको बताएको छ।

    आज (आइतबार) पत्रकारहरूलाई सूचनासँगै एक लिखित सामग्री उपलब्ध गराउँदै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सचिवालयले यसअघि पनि ट्रिपिङ समस्या रहेको उल्लेख गरेको हो।

    विगतका वर्षहरूमा समेत प्रि(मनसुन र मनसुनको समयमा हावाहुरी अधिक वर्षा लगायतका कारणले लाइन ट्रिपिङको समस्या रहेको कार्यकारी निर्देशक शाक्यको सचिवालयले जनाएको छ।

    ‘प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ हुँदा समेत अत्यधिक लाइन ट्रिपिङको समस्या देखिएकाले सोको निराकरणका लागि उपकार्यकारी निर्देशक तारा प्रधानको नेतृत्वमा ५ सदस्य रहेको अध्ययन कमिटी बनाएका थिए,’ प्राधिकरणले सूचनामा उल्लेख गरेको छ।

    समस्या देखिएपछि जनआक्रोश कम गर्न कमिटी बनाउने तर कमिटीले रिपोर्ट नदिने उल्लेख छ। दिए पनि कार्यान्वयन नहुने प्रवृत्ति विगतमा रहेको प्राधिकरणले जनाएको हो। २०८० साउन २६ गते बनेको कमिटीले पनि कुनै रिपोर्ट नदिएको उल्लेख छ।

    प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकूल अवस्थालाई लोडसेडिङसँग जोडी सामाजिक सञ्जालमा आएका कुरामा कुनै सत्यता नभएको पनि प्राधिकरणले जनाएको हो।

    प्राविधिक समस्याको समाधान प्राविधिक ढंगबाट नै खोज्नुपर्ने सुचनामा उल्लेख गरेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार