प्रवीण पोखरेल र प्रवीण शाक्य
रुपन्देही । मदिरा सेवन गरेर लापरबाहीपूर्वक गाडी चलाउने क्रममा ठक्कर दिएर भएको एक ब्यक्तिको मृत्यु प्रकरणमा चालकलाई उन्मुक्ति दिने चलखेलका बारेमा प्रहरी प्रधान कार्यालयले चासो देखाएको छ ।
२०७७ पुस १७ गते रुपन्देहीको तिलोत्तमामा मदिरा सेवन गरेको अवस्थामा प्रवीण शाक्यले चलाएको गाडीले रुपन्देहीको तिलोत्तमास्थित जानकीनगरमा पैदल हिंडिरहेका २४ बर्षीय महेन्द्र मरासिनीलाई ठक्कर दिएको थियो । गाडीले ठक्कर दिएपछि मरासिनीलाई क्रिमसन अस्पताल लाने क्रममा उनको मृत्यु भएको थियो । यस घटनामा चालक शाक्य भीआइपी भएकाले उनलाई प्रहरीले नियन्त्रणमा लिए पनि हिरासतमा नराखी लुम्बिनी प्रादेशिक अस्पतालमा राखेको छ ।
मापसे गरी गाडी चलाउने र त्यो गाडीले ठक्कर दिंदा मानिसको मृत्यु भएको बिषयमा पुर्पक्षमा राखी कर्तब्यज्यानमा मुद्दा चलाउनुपर्नेमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रवीण पोखरेलले उनीसँग सेटिङ गरी सवारी ज्यानमा मुद्दा चलाई जतिसक्दो छिटो उन्मुक्ति दिने तारतम्य मिलाएका छन् ।
जग्गा कारोबारी शाक्य लुम्बिनी विकास कोषका पूर्वसदस्य समेत हुन् । एसपी पोखरेलदेखि सरकारी वकिल र न्यायाधीशसम्म सेटिङ गरिसकेकाले उनलाई सवारी ज्यानमा मुद्दा बुझाएर छुटाउनका लागि जग्गा दलाल र बिचौलियाहरुको सक्रियताको बारेमा समाचार सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले यसबारेमा चासो राखी रुपन्देही प्रहरीलाई पत्र काटेको छ । घटनाको बारेमा के भएको हो त्यसबारेमा प्रष्ट पार्न पत्रमा निर्देशन दिइएको छ ।
शाक्यले मदिरा सेवन गरी चलाएको बा १९ च २०६८ नम्बरको गाडीको ठक्करबाट गम्भीर घाइते भएका मरासिनीको क्रिमसन अस्पतालमा पु्र्याउँदा मृत्यु भइसकेको थियो । रुपन्देहीको शुद्धोधन गाउँपालिका–२ का मरासिनीलाई २०७७ पुस १७ गते नयाँ बर्षका दिन बुटवलबाट भैरहवातर्फ तीव्र गतिमा चलाइएकोे निशान कारले ठक्कर दिएको थियो ।
मदिरा सेवन गरी गाडी हाँक्ने चालक प्रवीण शाक्य लिटिल बुद्ध होटलका सञ्चालक हुन् । मापसे गरी सवारी चलाएर पैदलयात्रीलाई ठक्कर दिने शाक्यलाई ज्वाईको सम्मान दिएर लुम्बिनी प्रादेशिक अस्पतालमा राख्ने काम पनि एसपी पोखरेलले नै गरेका छन् । शाक्यले अस्पतालमै बसेर प्रहरी, सरकारी वकिल र अदालत सेटिङ गरी तत्कालै छुट्ने तानाबाना बुनेका छन् । अस्पतालबाटै उनले निर्वाधरुपमा मोवाइल चलाउने सुविधा पाएका छन् ।
भीआइपी चालक शाक्यको सवारी अनुमतिपत्र (लाइसेन्स) समेत नवीकरण नभएको पुष्टि भइसकेको छ । प्रहरीले दुर्घटनापछि शाक्यलाई अस्पतालमा मापसे परीक्षण गराएको थियो । परीक्षण गराउँदा उनले मापसे सेवन गरेको पुष्टि भएको डीएसपी प्रतितसिंह राठौरले नै स्वीकार गरेका छन् ।
लाइसेन्स समेत नवीकरण नभएका र मापसे गरी सवारी चलाएर मान्छे मारेका भीआइपी चालक शाक्यलाई कर्तब्य ज्यानमा मुद्दा चलाउनुपर्ने माग पीडित मरासिनीका परिवारले गरेका छन् । तर प्रहरीले सरकारी वकिलसँग सेटिङ मिलाई मुद्दा कमजोर बनाउने चलखेल भइरहेको छ । पीडितलाई न्याय दिनुपर्ने ठाउँमा उल्टै आर्थिक चलखेल गरी मिलापत्र गराउने काममा प्रहरी नै लागेको गुनासो पीडितका आफन्तको छ ।
लुम्बिनी प्रदेश प्रहरीका प्रमुख डीआइजी रविन्द्रबहादुर धानुकले घटनाका बारेमा बुझ्दैछु । उनले प्रहरी प्रधान कार्यालयले पत्र पठाएको स्वीकार गर्दै लापरबाही भएको छ भने कानुन अनुसार कारबाही गर्ने प्रतिबद्धता जनाए ।
यसअघि रुपन्देहीकै बुटवल इलाका प्रहरी कार्यालयमा तत्कालीन डीएसपी मुकुुन्द मरासिनीले दुर्घटना गराउने चालकलाई उन्मुक्ति दिई नक्कली चालक खडा गरेका थिए ।