Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोभिड भ्याक्सिनमा भारतले सघाउने


    आइतबार, माघ ४ २०७७
    675
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालमा तत्काल आवश्यक पर्ने कोभिड भ्याक्सिनको पूर्तिका लागि भारत तयार रहेको बताएका छन्।

    शनिबार नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी भएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो जानकारी गराएका हुन्। ‘यसबारे भारतसँग महत्वपूर्ण छलफल भएको छ। भ्याक्सिन सहयोगका लागि नेपाल प्राथमिकतामा पर्ने भारतले स्पष्ट पारेको छ,’ मन्त्री ज्ञवालीले भने।  

    दुई पक्षीय बैठकमा नेपाल–भारतबीच पारवहन सम्झौता पुनरवलोकन शीघ्र सम्पन्न गर्ने र वाणिज्य सन्धिको पुनरवलोकनका लागि आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको उनले जानकारी गराए। बैठकमा सीमाविवाद जतिसक्दो छिटो समाधान गर्ने दुवै पक्षले प्रतिबद्धता जनाएको र सीमाविवाद समाधानका लागि बनेको संयन्त्र तथा राजनीतिक तहमा समेत गरी दुवै ढंगले छलफल गर्दै जाने सहमति भएको उनले बताए। बैठकमा नेपाली पक्षले १९५० को शान्ति र मैत्री सन्धिको पुनरवलोकन, नेपाल–भारत प्रबुद्ध समूहले पेस गरेको रिपोर्ट र नेपाललाई हवाई प्रवेशद्वार उपलब्ध गराउनेलगायत विषय उठान गरेको थियो।  

    नेपाल–भारतबीच कनेक्टिभिटी, अर्थतन्त्र, व्यापार, ऊर्जा, तेल, ग्यास, जलस्रोत, राजनीतिक र सुरक्षासम्बन्धी विषय, सीमा व्यवस्थापन, विकास साझेदारी, पर्यटन, संस्कृति, शिक्षा र क्षमता अभिवृद्धिलगायत सहयोगका विविध क्षेत्रका विषयमा छलफल भएको छ। बैठकमा दुई मुलुकबीचको परम्परागत रूपमा रहँदै आएको निकट मैत्रीसम्बन्धलाई कसरी थप सुदृढ बनाउने भन्नेबारे पनि छलफल भएको छ।

    भ्रमणले नेपाल–भारत सम्बन्ध थप बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने परराष्ट्रमन्त्रीको विश्वास रहेको छ। परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटको प्रयास गरेका थिए। तर प्रधानमन्त्री मोदीले उनलाई समय उपलब्ध नगराएपछि भेट हुन नसकेको जनाइएको छ। आजको नागरिक दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार