Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अनुगमनका नाममा सशस्त्र मुख्यालयबाट घुमुवा परिचालन, लेनदेन नमिल्दा गोदाममा छापा


    आइतबार, बैशाख २१ २०८२
    1.7K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सादा पोशाकमा घुमुवा परिचालन नगर्ने नीति लिंदैआएका छन् । उनले आईजीपी भएपछि एकै पटक ३ सयभन्दा बढी सादा पोशाकमा परिचालन गरिएका घुमुवाहरुलाई बर्दी लगाएरै ड्युटीमा खटाउने निर्णय गरे । तर महानिरीक्षकको सचिवालय मातहतको उजुरी छानबिन र अनुगमन शाखाका डीएसपी सुदीप रेग्मीले संगठनको छविमै आँच पुग्नेगरी अहिले पनि विवादित घुमुवाहरुलाई मधेश प्रदेशका जिल्लामा असुलीमा खटाएका छन् ।

    पथलैयाको शिक्षालय, गण र मुख्यालय दरबन्दी भएका विवादित घुमुवालाई जिल्ला जिल्लामा उनले असुलीमा लगाएको आरोप छ । जो विगतमा घुमुवाका रुपमा बदनाम भएर तानिएका थिए ।
    तराईका जिल्लामा असुलीमा बदनाम भएका घुमुवाहरु रोशन मिश्र, सन्तोष यादव, राजीव यादवलगायतलाई मधेश प्रदेशका जिल्लामा उनले पठाएका छन् ।

    डीएसपी रेग्मीले पथलैयामा शिक्षालयमा दरबन्दी भएका हवल्दार राजीव यादव र सशस्त्र मुख्यालयमा दरबन्दी भएका रोशन मिश्रलाई सर्लाहीमा खटाएको खुलेको छ । स्रोतका अनुसार आईजीपीलाई थाहै नदिई अनुगमनका नाममा खटाइएका रोशन मिश्रले चीनबाट स्याउको ब्यापार गर्दैआएका धर्मेन्द्र महतोसँग पैसा मागे । महतोले चीनबाट आफूले भन्सार तिरेर स्याउ आयात गरेकाले घुस दिन अस्वीकार गरे । घुस नदिएपछि मिश्रले राजीव यादवलाई साथमा लिएर सशस्त्र मुख्यालयबाट अनुगमनमा आएको भन्दै मलंगवामा रहेको महतोको स्याउ गोदाममा केही दिनअघि छापा मारे ।

    भन्सार तिरेर आयात गरेको स्याउ गोदाममा छापा हानिएको कुरा डीआईजी (हाल सरुवा)कोमा पुग्यो । धौबजीले डीएसपी रेग्मीलाई मिश्रलाई मुख्यालयबाट पठाएको हो भनेर सोधे । तर रेग्मीले आफूले नपठाएको भन्दै पानीमाथिको ओभानो बनेका थिए । आईजीपी अर्याललाई थाहा नदिई डीएसपी रेग्मीले तानिएका बदनाम घुमुवालाई खटाउँदैआएका छन् । स्याउ गोदाममा छापा मारेको दिन रोशन मिश्र सशस्त्र मुख्यालयमा आमा बिरामी भएको भनेर बिदा लेखेर गएको भेटिएको छ ।

    सशस्त्रको सेवामा प्रवेशदेखि रोशन मिश्र सर्लाहीमा कार्यरत थिए । घुमुवा अप्रेसनका क्रममा उनी तानिएका थिए । तिनै तानिएका घुमुवा मिश्रलाई रेग्मीले मधेशका जिल्लामा अनुगमनका नाममा असुलीमा लगाउँदैआएका छन् । पथलैयाको शिक्षालयमा कार्यरत राजीव यादव मधेश प्रदेशका जिल्लामा रेग्मीले खटाउने गरेका छन् । आईजीपीको सचिवालयका शक्तिशाली डीएसपी सुदीपको टोली भनेपछि कसैले रोक्न नसक्ने अवस्था मधेश प्रदेशदेखि लुम्बिनीसम्म छ ।

    स्याउ छापा हानेर विवादमा आएका राजीव यादव र रोशन मिश्रले डीएसपी रेग्मीलाई भनेर २० नम्बर गणमा दरबन्दी भएका अर्का विवादित सहायक हवल्दार सन्तोष यादवलाई पनि मधेशमा आफूहरुको टोलीमा खटाउने ब्यवस्था गरेका छन् । २० नम्बर गणमा दरबन्दी भए पनि एमसीसी परियोजना लप्सीफेदीमा १५ हजार थप सुविधा पाउने सन्तोष यादव पनि प्रायः खटाएको ठाउँमा ड्युटी नगरी मधेश प्रदेशमै रेग्मीका दूत भएर असुलीमै खटिने गरेका थिए । मिश्र र राजीवको सिफारिसपछि रेग्मीले बैशाख १९ गते २० नम्बर गणका एसपी समीर श्रेष्ठलाई रमाना गर्न निर्देशन दिएपछि उनलाई

    बारामा पठाएका छन् । बारामा खटाए पनि रेग्मीले उनलाई महोत्तरीको तस्करीको नेटवर्क हेर्न गुप्तरुपमा परिचालन गरेका छन् । आईजीपीको कार्यकाल एक बर्षमात्र भएकाले डीएसपी रेग्मी जसरी हुन्छ मधेश प्रदेशबाट लाभ लिन एकपछि अर्को विवादित घुमुवालाई अनुगमनका नाममा खटाउँदैआएका छन् । आईजीपीको सचिवालयमा बसी मधेशदेखि लुम्बिनीसम्म मुख्यालयबाट घुमुवा खटाएर अकूत आर्जन गरेको आरोप डीएसपी रेग्मीमाथि लाग्नेगरेको छ । अनुगमन भन्दै घुमुवा परिचालन गरी लाभ लिंदै धापासी क्षेत्रमा ८ करोड मूल्यसम्मको घर हेर्न भाइलाई खटाएको स्रोत बताउँछ ।

    यसअघि २१ कात्तिक, २०८१ मा पनि सशस्त्र मुख्यालयबाट रेग्मीले विवादित घुमुवालाई मधेश प्रदेशका धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा खटाएको समाचार नेपालफेसले सार्वजनिक गरेको थियो । अनुगमनका नाममा उनले विगतमा घुमुवाका रुपमा असुलीमा निपूर्णहरुलाई नै पठाएर अतिरिक्त लाभ लिएको उल्लेख थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार