Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गच्छदारदेखि दीप बस्नेतसहित २ सय २० जनाको अकूत सम्पत्ति छानबिन हुँदै


    शनिबार, माघ ३ २०७७
    805
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेता, पूर्वप्रशासक, व्यवसायीसहित २ सय २० जनाको सम्पत्ति छानबिन गरिरहेको छ ।  
    यिनमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, पूर्वआयुक्त राजनारायण पाठकलाई घुस दिने नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलगायत छन् । उनीहरूले कमाएको अकुत सम्पत्तिको अनुसन्धान गरी केही मुद्दा दायर गर्ने तयारी रहेको विभागले जनाएको छ ।

    १ हजार ३ सय उजुरीको प्रारम्भिक जाँचबुझ भइरहेको विभागका सूचना अधिकृत सुशीलप्रसाद आचार्यले जनाए । स्थापनाको पाँच वर्षमा विभागले ६६ वटा मुद्दा विशेष अदालतमा दायर गरेको छ । ६ अर्ब ८ करोड ५६ हजार २ सय ७९ बिगो कायम गरेर मुद्दा दायर गरेको पाइएको छ । चालु वर्षको पहिलो ६ महिनामा पाँचवटा मुद्दा विशेष अदालतमा दायर गरिएको छ । ती मुद्दामा २३ करोड ७० लाख ५२ हजार ६८२ बिगो माग दाबी गरिएको छ। ०७६–७७ मा १० वटा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

    जसबाट ३ अर्ब ६२ करोड २७ लाख ७३ हजार ३७३ बिगो मागिएको छ । ०७५-७६ मा ९ मुद्दा दायर गरिएको थियो । जसको ५१ करोड ५८ लाख ६२ हजार ५७३ बिगो कायम गरिएको थियो । ०७४–७५ मा ४ मुद्दा दायर गर्दै ५८ करोड २ लाख २३ हजार ८११ रुपैयाँ बिगो मागिएको थियो । 

    स्थापनाको पहिलो वर्ष ०७३–७४ मा ३८ मुद्दा दायर भएका थिए । जसमा १ अर्ब १२ करोड ४१ लाख ४३ हजार ८२० बिगो मागिएको थियो । हालसम्म ४४ वटा मुद्दा फैसला भएको छ। सरकारको पक्षमा पूर्ण आंशिक रूपमा ठहर भएका मुद्दाको संख्या ३९ छ ।

    सर्वोेच्च अदालतबाट १० वटा मुद्दाको फैसला भएको विभागले जनाएको छ । जसमा ९ वटा मुद्दा विभागको पक्षमा फैसला भएको छ । आतंककारी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी कसुरका २ वटा मुद्दामध्ये एउटामा सर्वोच्चबाट ठहर भइसकेको विभागले जनाएको छ । 

    शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी कसुरको अनुसन्धान गरी अभियोजन गर्ने विभागको मुख्य काम हो । अर्थ मन्त्रालयअन्तर्गतको विभाग प्रधानमन्त्री मातहत गएसँगै यसप्रति चासो बढेको देखिएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार