काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गर्नु पर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले नयाँ बर्ष २०८२ को अवसरमा शुभकामना बक्तब्य दिदैँ युवाहरूको जोश, जाँगर र सिर्जनशीलतालाई राष्ट्र निर्माणको मूलधारमा ल्याउन सरकारले युवाहरुलाई उद्यमशीलता, प्रविधि, शिक्षा र स्वरोजगारमार्फत आत्मनिर्भर र आत्मविश्वासी बनाउने नीति अवलम्बन गरेकोसमेत जनाएका छन्।
प्रधानमन्त्री ओलीले दिएको शुभकामना मन्तब्यः
नयाँ वर्ष २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । आजबाट सुरु भएको नयाँ वर्षले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, प्रगति, सफलता र नयाँ उत्साह पैदा गरोस् भन्ने कामना गर्दछु ।
नयाँ वर्षमा हामी नयाँ ऊर्जा, नयाँ सङ्कल्प र नयाँ सम्भावनाको खोजी गर्छौं । यस वर्षले हामी सबैमा आशा, उत्साह र सकारात्मक सोचको विकास गर्न प्रेरणा भर्ने छ भन्ने विश्वास लिएको छु । अनेकौं कठिनाइहरुका वावजुद हामीले हासिल गरेका उपलब्धिहरुलाई आधार बनाएर हामी उज्यालो भविष्यतर्फ अगाडि बढ्न सफल हुने छौं भन्ने विश्वास लिएको छुु ।
देशलाई समृद्ध र जनतालाई सुखी बनाउने हाम्रो साझा सङ्कल्प हो । राष्ट्रको साझा आकाङ्क्षा साकार पार्न सरकार एक्लैले मेहनत गरेर पुग्दैन, देशभित्र र बाहिर रहेका सबै नेपालीको साझा प्रयास, मेहनत र योगदानले मात्र हामी यसमा सफलता पाउन सक्छौं । राष्ट्रको साझा गन्तव्य प्राप्त गर्न हामीमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक छ । सबै दिदीबहिनी दाजुभाइहरुमा नयाँ वर्षले नयाँ संकल्प पैदा गर्ने छ भन्ने आशा गरेको छु।
जातीय, क्षेत्रीय, सांस्कृतिक र धार्मिक विविधता हाम्रो राष्ट्रका साझा सम्पति हुन् । यिनलाई परस्पर विरोधी शक्तिका रुपमा होइन, तिनीहरु बीचको एकतालाई शक्तिका रुपमा विकास गरेर अगाडि बढ्नु पर्दछ । सद्भाव, सहिष्णुता र राष्ट्रप्रेमको मिलनबिन्दुमा उभिएर मात्र हामी देशलाई अगाडि बढाउन सक्छौं ।
मुलुकमा आज विकास केवल सपना होइन, यथार्थ बनिरहेका छन् ।
यस वीचमा ग्रामीण भेगहरूमा पुगिरहेको पूर्वाधार, यसले जनजीवनमा पर्न थालेको प्रत्यक्ष सकारात्मक प्रभाव र सामाजिक सेवा प्रणालीमा भएका सुधार लोकतान्त्रिक प्रणालीका उपलब्धि हुन् । युवापुस्ता हाम्रो राष्ट्रका सम्भावना हुन् । उनीहरूको जोश, जाँगर र सिर्जनशीलतालाई राष्ट्र निर्माणको मूलधारमा ल्याउन सरकारले युवाहरुलाई उद्यमशीलता, प्रविधि, शिक्षा र स्वरोजगारमार्फत आत्मनिर्भर र आत्मविश्वासी बनाउने नीति अवलम्बन गरेको छ ।
नयाँ वर्षमा हामीले हाम्रो प्रकृतिसँग पनि मित्रता राख्ने संकल्प गर्नु आवश्यक छ । वातावरणको रक्षा बिना दिगो विकास सम्भव छैन । हरियाली, स्वच्छता, जलवायु सन्तुलन र प्रकृतिप्रति जिम्मेवार व्यवहारले मात्र हामी नयाँ पुस्तालाई सुरक्षित मातृभूमि हस्तान्तरण गर्न सक्छौं ।
मुलुकको लोकतान्त्रिक प्रणालीले ल्याएको परिवर्तनलाई हामीले हेर्ने मात्र होइन, त्यसलाई अँगाल्ने, उत्सवको रूपमा मनाउने र अझ सकारात्मक दिशामा अघि बढ्ने संकल्प लिनुपर्छ । निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गर्दै राष्ट्रप्रेम, एकता र प्रगतिमा भरोसा गर्दै अघि बढ्नु पर्दछ ।
नयाँ वर्ष २०८२ सम्पूर्ण नेपालीहरूको जीवनमा शान्ति, समृद्धि, प्रगति र सन्तोषको वर्ष बनोस् । हार्दिक शुभकामना ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend