वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले केपी ओली सरकारमा रहेसम्म लोकतन्त्रमाथि खतरा रही रहने बताएका छन् ।
पार्टीले वीरगञ्जमा सोमबार आयोजना गरेको जनप्रदर्शन एवं विरोध कार्यक्रममा बोल्दै नेता यादवले भने,’ओलीतन्त्रको अन्त्यबाट नै लोकतन्त्रको रक्षा हुनेछ।’
ओली संविधान नै खारेज गरेर तानाशाही बन्न तरखरमा रहेको बताउँदै उनले त्यो सपना पूरा हुन दिन नहुने बताए । सार्वभौम सत्ता सम्पन्न जनताको अधिकार कुण्ठित गर्ने अधिकार केपी ओलीलाई छैन, लोकतान्त्रिक मूल्य मान्यतालाई समाप्त पार्नका लागि प्रतिनिधिसभा भंग गरेका हुन्, उनले भने, प्रदेशसभा भंग गर्ने, देशमा आपतकालिन अवस्था घोषणा गर्ने र संविधान नै खारेज गरेर देशलाई पछाडि धकेलेर तानाशाह बन्ने सोच ओलीमा देखिएको छ । त्यसलाई कदापी पूरा हुन दिनु हुँदैन ।
प्रधानमन्त्रीले नै न्यायलय र पूर्वप्रधान न्यायाधीशहरुलाई धम्की दिइरहेको उनको भनाइ छ ।